४ पुस।
पञ्चायतकाल देखि निर्माण थालनी गरिएको प्युठानको लुंग्री–माडी सिंचाइ आयोजना अहिले पनि सम्पन्न हुन सकेको छैन् । सिंचाइ नहुँदा उर्बरभूमि बाँझै छ । काम शुरु गरेको तीन दशक बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन ।
२०४२ सालदेखि निर्माण शुरु भएको प्युठानको उक्त सिंचाइ आयोजना अहिले पनि सम्पन्न हुन सकेको छैन । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित लुंग्रीखोलाबाट १२ दशमलब ६ किलोमिटर कुलो निर्माण शुरु गरेको तीन दशकमा ७६ प्रतिशत काम सकिएको छ ।
तर पहिले निर्माण गरिएको कुलो भत्किन थालिसकेको छ । आयोजना बनेको भए स्वर्गद्वारी नगरपालिकाका ३ वटा वडाका साढे सात सय घरधुरीको १२ सय हेक्टरभन्दा बढी जग्गा यतिबेला हराभरा हुने थियो ।
यो कुलो बनाउनका लागि सरकारको १४ करोड र स्थानीय जनश्रमदानबाट ५६ लाखभन्दा बढी रुपैयाँ खर्च भइसकेको छ । स्थानीय सरकारले ठूलो आयोजना भएकाले नगरपालिकाले काम गर्न नसक्ने भन्दै बाँकी काम सक्नका लागि संघ र प्रदेश सरकारलाई गुहारेको छ ।।