२०८१ चैत्र १० गते आइतवार

दाङमा पहिलो पटक तीन करोड लगानीमा अत्याधुनिक सिटी स्क्यान मेसिन संचालनमा



कार्तिक ३, दाङ । दाङमा पहिलो पटक राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सिटी स्क्यान मेसिन संचालनमा आएको छ । लुम्बिनी प्रदेश सरकारको झण्डै तीन करोड लगानीमा अत्याधुनिक सिटी स्क्यान मेसिन संचालनमा आएको प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका फारमेसी सुपरभाइजर रोशन तिमिलसेनाले जानकारी दिए । अनौपचारिक रुपमा आइतबारदेखि सुरु भएपनि औपचारिक रुपमा भने दशैपछि गरिने राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए । १६ स्लाइसको सिटी स्क्यान मेसिन दाङमा रहेका सरकारी अस्पताल मध्य पहिलो पटक जडान गरिएको हो ।

परीक्षणकालको समयमा गरिएको सिटी स्क्यान सेवा निशुल्क हुने छ । औपचारिक रुपमा उदघाटन गरेर सुरु भएपछि भने सिटी स्क्यानको प्रकृति हेरेर पाँच हजारदेखि छ हजार पाँचसय रुपैयाँसम्म शुल्क लाग्ने अस्पतालका डा। शर्माले बताए । टाउकोमा लागेको चोट, नसामा रगत जमेको, घाँटीको समस्या, क्यान्सर, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा मेसिन उपयोगी हुने अस्पतालले बताएको छ । अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा प्रति महिना ४५ देखि ५० जनासम्म नेपालगञ्ज जान बाध्य थिए ।

सिटी स्क्यान सुरु भएपछि स्थानीय खुशी

दाङमा पहिलो पटक अत्याधुनिक सिटी स्क्यान मेसिन संचालनमा आएपछि यस क्षेत्रका नागरिकहरु खुशी भएका छन् । टाउकोमा लागेको सामान्य चोटका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यताबाट मुक्त भएपछि यस क्षेत्रका नागरिकहरु उत्साहित भएका हुन् ।

‘सामान्य सिटी गर्नु प¥यो भने बिरामी वा घाईते नेपालगञ्ज जानु पथ्र्यो,’ नागरिक समाज दाङका सल्लाहाकार टीकाराम रेग्मीले भने –‘ अब अस्पतालमै सेवा सुरु भएपछि समय र आर्थिकको पनि ठूलो बचत हुने भयो । यो दाङबासीका लागि खुशी र गौरबको कुरा हो ।’

गिट्टी कुट्ने मजदुरदेखि हुनेखानेले गरेको आर्थिक सहयोगबाट संचालनमा आएको अस्पतालले विस्तारै आफ्ना सेवामा वृद्धि गर्दै जाँदा दाङ सहित सल्यान, रोल्पा, रुकुम र प्युठानका हजारौ नागरिकका लागि सहज हुने रेग्मीले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्