३ भदौ, घोराही-
दाङको घोराहीदेखि मुर्कुटीसम्मको सडक सुधारका लागि सडक क्षेत्रका २५ बढी टोल विकास संस्थाले थालेको आन्दोलनमा विभिन्न क्षेत्रका अगुवाहरुले एक्येबद्धता जनाएका छन् । घोराही नवलपुरमा आयोजित कार्यक्रममा उनीहरुले एक्येबद्धता जनाएका हुन् ।
वक्ताहरुले टिप्परका लागि बैकल्पिक सडक तत्काल सञ्चालन गरिनुपर्ने बताएका छन् । आन्दोलनबारे जानकारी दिंदै घोराही–मुकुटी सडक सुधार सरोकार समितिका संयोजक नारदमणि पोख्रेलले सडकलाई खाल्डाखुल्डी, हिलो, धुलो र दुर्घटनाबाट मुक्त गर्न आन्दोलन शुरु गरिएको बताउनुभयो ।
वैकल्पिक सडक निर्माण नहुँदासम्म आन्दोलन जारी राख्ने भन्दै उहाँले सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको थियो । सहभागीहरुले आन्दोलन सही भएकाले कुनै आंशिक सहमतिमा आन्दोलन नतुहाउन आग्रह गरेका थिए ।
बिगतमा आन्दोलन भए पनि सामान्य सम्झौतामा टुंगिने गरेको भन्दै उनीहरुले यसपटक वैकल्पिक सडक सञ्चालन नहुँदासम्म आन्दोलन जारी रहनुपर्ने बताए ।
आन्दोलनका कार्यक्रमअन्तर्गत वैकल्पिक सडक सञ्चालनमा नआउँदासम्म आन्दोलन जारी रहने, वैकल्पिक सडक सञ्चालन नहुँदासम्म साँझ ७ बजेदेखि विहान ६ बजेसम्म मात्रै सिमेन्ट उद्योगसम्बद्ध टिप्पर चल्न दिइने छ र उद्योगदेखि खानीस्थल सम्मको सडक किनारामा कतै पनि टिप्पर पार्किङ गर्न नदिने जानकारी गराइएको थियो ।।