३ भदौ,घोराही – प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काम गरेका श्रमिकहरुले ज्याला नपाएको गुनासो गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका १९ को पाँचपोखरी–लुङ्खुरीलेक हुँदै वडा कार्यालय जोड्ने नगरस्तरीय योजना परेको थियो । गत असार महिनामै काम सम्पन्न भए पनि अहिलेसम्म ज्याला नपाएको श्रमीक मिलन घर्तीले बताउनुभयो ।
उक्त काममा आठवटा टोलको सहभागिता थियो । उनीहरुले गरेको कामको आठ लाख रुपैयाँ अहिले बाटो निर्माण समितिले नै राखेको निर्माण समितिका अध्यक्ष मंगलबहादुर घर्तीले बताउनुभयो । उहाँले बाटो खन्नुभन्दा पहिले भएका निर्णयअनुसार काम नभएको र कुरा नमिलेकाले समयमै श्रमिकहरुलाई रकम भुक्तानी गर्न नसकिएको बताउनुभयो ।
उहाँले छिट्टै वडासँग समन्वय गरेर रकम बाँडफाँड गर्ने विषयमा छलफल हुने र सो रकम सबैलाई कामको आधारमा वितरण गरिने बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाँचपोखरीदेखि लुङ्खुरी हुँदै वडा कार्यालय जोड्ने करीब तीन किलोमिटरको बाटो निर्माण भएको छ ।।