७ फागुन , रामेछापमा विद्यार्थी बोकेको बस पल्टिएको छ। शुक्रबार बिहान पौने ८ बजे मन्थली नगरपालिका-१ मच्छेडाडीमा सेतीदेवी माध्यमिक विद्यालयको स्काउट विद्यार्थी बोकेको बस पल्टिएको हो।
बा ५ ख २८५७ नम्बरको बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए।
मन्थलीबाट सालुस्थित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि जाने क्रममा बस पल्टिएको श्रेष्ठले बताए । बस अत्यधिक गतिको कारणले पल्टिएको हो। अगाडिबाट ट्रयाक्टर आएको देखेपछि साइड लगाउने क्रममा पाखोमा अल्झेर सडकमै पल्टिएको हो, प्रहरी निरीक्षक श्रेष्ठले भने।
सो बसमा ५३ जना सवार थिए। १८ जना घाइतेमध्ये चार जनालाई भक्तपुरस्थित मध्यपुर ठिमी अस्पतालमा रिफर गरिएको छ। अन्यको अवस्था सामान्य रहेको उनले बताए। उनीहरूको रामेछापमै उपचार भइरहेको छ । ४० वर्षीय दुर्गा पौडेल, १७ वर्षीय दिलकुमार पाण्डे, १७ वर्षीया प्रतिक्षा घिमिरे र १६ वर्षीया स्वस्तिका काफ्लेलाई ठिमी अस्पतालमा रिफर गरिएको हो । उनीहरूको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताए। प्रहरीले सवारी चालक गोकुलगंगा गाउँपालिका ४ का वीरेन्द्र बस्नेतलाई नियन्त्रणमा लिएको छ। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।