५ माघ,दाङ –
माघीको दिन राति पसलहरुमा चोरी गरेको अभियोगमा तुलसीपुरमा दुई युवा पक्राउ परेका छन् । अर्का एक जना फरार रहेको प्रहरीले जानकारी दिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्ब्र ५ घर भएका २० बर्षीय दिलिप परियार र घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर घर भएका १९ वर्षिय बिशाल परियार पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।उनीहरु दुबै जना तुलसीपुर ६ रजौरामा डेरा गरि बस्दै आएका थिए ।
मंगलबार दिउँसो प्रहरीले उनीहरुलाई रजौरास्थित कोठाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । पक्राउ परेका ब्यक्तिका कोठाबाट दाङका चोकमणि गिरीको र दाङकै ममता डिसीको नामको राहदानीपनि बरामद भएको छ । त्यस्तै खुकुरी, फलामका रड, केही दिन पहिले तुलसीपुरबाट चोरी भएका सरसामान, चाँदीका गरगहना र सुनका नक्कली गहना पनि बरामद भएको प्रहरीले जनाएको छ ।
माघीको दिन राति तुलसीपुर–सल्यान सडक खण्डका दुई वटा पसलबाट झन्डै ६० हजार बराबरको सरसामान चोरी भएको थियो । त्यो बाहेक आसपासका थप ११ वटा पसलमा चोरीको प्रयास भएको सिसी टिभी फूटेजमा देखिएको छ । डिएसपी अर्यालका अनुसार सिसी टिभी फूटेजमा चोरी गर्ने ब्यक्तिले लगाएको ज्याकेजको आधारमा अनुसन्धान गर्दै जाँदा परियार द्धय पक्राउ परेका हुन ।
दिलिपले लगाएको ज्याकेटको आधारमा अनुसन्धान गरि प्रहरी उनी समक्ष पुग्न सफल भएको डिएसपी अर्याललले बताए । दिलिप पुस २२ गते मात्रै चोरी अभियोगमा पक्राउ पछि प्रहरीको थुनुवा कक्षबाट छुटेका ब्यक्ति रहेको जानकारी दिइएको छ । दिलिप लामो समयदेखि बिभिन्न चोरी कार्यमा संलग्न रहेको अनुसन्धान बाट खुल्न आएको डिएसपी अर्यालले जानकारी दिए ।
पक्राउ परेका ब्यक्तिहरु माथि अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । माघी राति चोरी पछि एक जना ब्यक्ति फरार रहेको हुँदा उनको खोजी कार्य जारी रहेको जानकारी दिइएको छ । फरार ब्यक्तिको पहिचान भने खुलाइएको छैन ।।