२ मंसिर, दाङ –
दाङबाट रोल्पा जादै गरेको बस दुर्घटनामा परेको छ । घोराहीबाट रोल्पाको थवाङ तर्फ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजेतिर दुर्घटना हुँदा तीन पुरुष र एक महिला गरि चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बस झन्डै एक सय मिटर तल माडी खोलामा खसेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले जानकारी दिए । यो खवर तयार पार्दासम्म मृतकको सनाखत भइ सकेको छैन ।
त्यस्तै थप ६ जना घाइतेलाई उद्धार गरि सुनिल स्मृति अस्पताल घर्ती गाउँमा पु¥याएको डिएसपी सुबेदीले जानकारी दिए । शहीद मार्ग अन्तरगत माडी गाउँपालिका वडा नं. २ जलजलास्थित माडी खोलामा बस खसेको छ । प्रहरीका अनुसार बसमा १० जना यात्रु सवार रहेका थिए ।
घटनास्थल अँध्यारो भएको हुँदा अरु यात्रुपनि घाइते छन् कि भनेर खोजी कार्य जारी रहेको पनि डिएसपी सुबेदीले जानकारी दिए । यही हप्ता मात्रै रोल्पामा भएको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । विस्तृत विवरण आउन बाँकी छ ।।