२ कार्तिक ।सरकारले सबै किसिमका अस्पताललाई कम्तिमा ५० प्रतिशत बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याउन निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले निजी, सामुदायिक, सरकारी अस्पताल र मेडिकल कलेजहरूले कम्तिमा ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउनुपर्ने बताएका हुन्।
यसअघि सरकारले निजी र सामुदायिक अस्पतालहरूलाई २० र मेडिकल कलेजलाई ३३ प्रतिशत बेड संक्रमितका लागि छुट्याउन भनेको थियो।
तर पछिल्लो समय संक्रमितहरूको उपचारका लागि बेड अभाव हुन थालेपछि सरकारले सबै किसिमका अस्पतालहरूलाई आइसियूसहित सबै बेडमध्ये कम्तिमा ५० प्रतिशत संक्रमितको उपचारका लागि छुट्याउन भनेको हो।
यसअघि सरकारले निर्देशन दिए पनि सबै अस्पतालहरूले तोकेको अनुसार बेड छुट्याएका थिएनन्।
पछि मन्त्रालयले त्यसरी बेड नछुट्याउने अस्पताल र मेडिकल कलेजहरूको पिसिआर परीक्षण अनुमति खारेज गर्ने र नयाँलाई अनुमति दिँदा पनि अनिवार्य तोकेको बेड छुट्याउनुपर्ने बताएको थियो।