२ भदौं, घोराही –
कोरोना महामारीको तेस्रो संक्रमण बढ्दै गएको लुम्बिनीमा स्वास्थ्य मन्त्रालय हाँक्ने नेतृत्व भने खाली छ । २८ साउनमा मुख्यमन्त्री कुलप्रसाद केसीसहित ७ जना मन्त्री बने पनि यो मन्त्रालयले मन्त्री पाउन नसकेको हो । दलीग भागबन्डा नमिल्दा तीन जना बिनाविभागीय मन्त्री बनेर बसेका छन् । लुम्बिनी प्रदेशमा कोरोना महामारीको संक्रमण बढ्दो छ । तर, यसलाई नियन्त्रणका लागि तालुकदार निकाय लुम्बिनी प्रदेशको विभागीय मन्त्रालयमा सरकारले विभागीग मन्त्री दिन सकेको छैन ।
महामारी समयमा स्वास्थ्य मन्त्रालयलाई बेवास्ता गरिएको छ । ३ जना मन्त्री बिनाविभागीय बनाएर राखिए पनि गठबन्धन दलमा भागबन्डा नमिलेका कारण मन्त्रालयले अभिभावक पाउन नसकेको हो ।
६ जना मन्त्री नियुक्त हुँदा पनि अझै प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री पाएको छैन । २७ साउनमा शंकर पोखरेलले राजीनामा दिएपछि केसी लुम्बिनीको मुख्यमन्त्री भएका छन् । मुख्यमन्त्री भएसँगै केसीले ३ जनालाई विभागीय र ३ जनालाई बिनाविभागीय गरी ६ जनालाई मन्त्री बनाए पनि स्वास्थ्य मन्त्रालय कसको भागमा पर्ने भन्ने टुंगो नलागेको हो ।।पलिकाखबरबाट