२ भदौ, घोराही –
सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि लिइने परीक्षा थप खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागेको हो ।
परीक्षाको लिखित र प्रयोगात्मक दुवै परिवर्तन गरिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताउनुभयो । लिखित परीक्षाका लागि विभागको वेबसाइटमा प्रश्न राखिएको छ । वेबसाइटमा राखिएका पाँच सय प्रश्न भित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा भुषालले बताउनुभयो ।
नयाँ मापदण्ड अनुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि कम गरिएको छ । पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्नेमा अहिले ७० ल्याए पुग्छ भने लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अङ्क थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ ।
परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो । नेपालमा सवारी चालककै कारणले दुर्घटना बढेको भन्दै परीक्षा प्रणाली थप कडा हुनुपर्ने विषय उठिरहँदा विभागले भने यसलाई खुकुलो बनाउन लागेको छ ।।