२०८१ जेष्ठ ३० गते बुधवार

कमैया मुक्तीको २२ बर्ष पुगेपनि समस्या जस्ताको तस्तै



२ साउन, दाङ–कमैया मुक्त भएको २२ बर्ष पुगेको छ । तत्कालीन २०५७ साल साउन २ गते सरकारले कमैया मुक्तको घोषणा गरेको थियो । तर, कमैया मुक्त घोषणा भएको लामो समय हुदा पनि कमैया पुर्नस्थापना हुन नसकेको भन्दै हरेक बर्ष मुक्ती दिवस आन्दोलनको रुपमा मनाउने गरिएको छ ।

दाङको लमहीमा आज मुक्त कमैया दिवसको अवसरमा ¥याली र सभा गरिएको छ । हर्षका साथ मनाइनुपर्ने मुक्त कमैया दिवस समस्या सुनाउने थलो बन्दै गएको छ । मुक्त कमैया समाज दाङले सरोकारवाला निकायलाई माग पत्र पेश गरेको छ । पुर्नस्थापना, सामाजिक सुरक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, जमिनमाथीको अधिकार लगायतका माग राखिएको छ ।

मुक्त कमैयाको पुर्नस्थापनाको लागी जग्गा, घर निर्माणको लागी काठ, नगद उपलब्ध गराउन अधिकार सम्पन्न राजनैतिक संयन्त्र निर्माण गरेर कार्यान्वयन गरिनुपर्ने, जोखिमयुक्त स्थानमा जग्गा प्राप्त गरेका तथा जग्गा धनी प्रमाणपत्र प्राप्त गरेका तर, जमिन उपभोग गर्नबाट बञ्चितहरुलाई तुरुन्त जग्गा सट्टा भर्नाको उचित व्यवस्था मिलाउन माग राखिएको छ ।

मुक्त कमैया समाजका अध्यक्ष हरिचन्द्र चौधरीले लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत थारु, प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, सरस्वती गौतम लगायत स्थानीय तहका प्रमुख, उपप्रमुखलाई माग पत्र पेश गरेका छन् । मुक्त कमैयाहरुले मुक्त भएको २२ बर्ष पुगेपनि आफुहरुको समस्या समाधान हुन नसकेको भन्दै चुनावी प्रतिबद्धता पुरा गर्न ध्यानाकर्षण गराएका छन् । जिल्लामा परिचयपत्र प्राप्त गरेका एक हजार चार सय २६ जना मुक्त कमैया छन् । लगत संकलन गर्न छुटेका दुई हजार चार सय ३६ जनागरी तीन हजार ७ सय ६२ जना मुक्त कमैया रहेका छन् ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्