२०८१ जेष्ठ ३० गते बुधवार

देशमै सबैभन्दा धेरै मुद्धा फछ्र्यौट गर्न सफल दाङ जिल्ला अदालत



२ साउन, घोराही – 
दाङ जिल्ला अदालतले देशमै सबैभन्दा धेरै मुद्धा फछ्र्यौट गर्न सफल भएको छ । जिल्ला अदालतले गत आर्थिक वर्षमा सम्पादन गरेको कामको प्रगति समिक्षा गर्न आयोजित आज पत्रकार सम्मेलनमा मुख्य न्यायाधीश रितेन्द्र थापाले एक वर्षको अवधिमा साढे २८ सय बढी मुद्धा फछ्र्यौट गर्दै न्याय दिलाएको बताउनुभयो । अदालतले प्रक्षेपण गरेको वार्षिक अनुमानित लगत भन्दा उल्लेख्य रुपमा मुद्धाको संख्या बढेर गएको हुँदा सिमित न्यायाधीशबाट मुद्धा फछ्र्यौट गर्न चुनौति थपिँदै गएको छ ।
न्यायाधीश थापाका अनुसार, जिल्ला अदालतमा तीन जना न्यायाधीशबाट एक वर्षको अवधिमा २ हजार ८ सय ५४ मुद्धा फछ्र्यौट भएको छ । जिल्ला अदालतका न्यायाधीशत्रय रितेन्द्र थापाले ९ सय २२, हिमलाल बेल्बासेले ९ सय ५९ र डिल्लीराम शर्मा अर्यालले ९ सय ७२ वटा मुद्धा बितेको एक वर्षमा फछ्र्यौट गर्नुभएको हो ।

बितेको ३ वर्षको मुद्धाको लगत फछ्र्यौट बारे जानकारी गराउँदै उहाँले आर्थिक वर्ष २०७६–०७७ मा दर्ता भएको २ हजार ६ सय ४२ वटा मुद्धाभन्दा आर्थिक वर्ष २०७८–०७९ मा धेरै संख्यामा मुद्धा फछ्र्यौट गर्न सफल भएको छ । जिल्ला अदालतका अनुसार आर्थिक वर्ष २०७६–०७७ मा २ हजार ६ सय ४२ मुद्धा मध्ये १ हजार ४ सय ४८ मुद्धा फछ्र्यौट हुँदा आर्थिक वर्ष २०७७–०७८ मा दर्ता भएको ३ हजार ७ सय ८८ मुद्धा मध्ये २ हजार ६ वटा मुद्धा फछ्र्यौट भएको छ । यस्तै, बितेको आर्थिक वर्ष २०७८–०७९ मा दर्ता भएको ४ हजार ७ सय ९९ मुद्धा मध्ये २ हजार ८ सय ५४ मुद्धा फछ्र्यौट भएको छ । मुख्य न्यायाधीश थापाका अनुसार बितेको आर्थिक वर्षमा मात्रै करीव ६० प्रतिशत मुद्धा फछ्र्यौट भएको छ ।

विभिन्न १२ वटा शीर्षकका मुद्धा जिल्ला अदालतमा दर्ता भएकोमा अधिकांश मुद्धा अपराधजन्य घटनाभन्दा सामाजिक विषयसँग जोडिएका धेरै रहेका छन् । वर्षेनी जिल्ला अदालतमा मुद्धाको संख्या उल्लेख्य रुपमा बढेर गएको छ । दाङ जिल्ला अदालतमा परेको मुद्धामध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका रहेका छन् । वैदेशिक रोजगारी, अशिक्षा, गरिबी, सामाजिक परिवेशलगायतका कारण पनि पछिल्लो समय सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको हुँदा यसले सामाजिक, आर्थिक जीवनमा ठूलो असर गर्ने न्यायाधीश थापाको भनाई छ ।

यस्तै, न्यायाधीश डिल्लीराम शर्मा अर्यालले पनि पारिवारिक बेमेल, आपसी समझदारीको अभाव, वैदेशिक रोजगारीका क्रममा उत्पन्न विवाद, वैदेशिक संस्कृतिको सिको, चाँडो उमेरको प्रेम विवाह आदिले वैवाहिक सम्बन्धविच्छेदका घटना दिनानुदिन बढ्दै गएको बताउनुभयो । स्वदेशमा बढ्दो बेरोजगारीले गर्दा पति वा पत्नी विदेश गई कमाएर घर पठाएको पैसा आफू विदेशबाट फर्कंदा हिनामिना भएको, आफूले पठाएको पैसा लिइ बालबच्चालाई बिचल्लीमा पार्दै पति वा पत्नीले दोस्रो विवाह गरेको अवस्थाले पनि सम्बन्धविच्छेदको घटनामा वृद्धि भएको जिल्ला अदालतको भनाई छ ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्