५ चैत, दाङ -घोराही उपमहानगरपालिका–१७ मा रहेको गोरक्षपात्र देवता सिद्धरत्ननाथ मन्दिर चौघेरादेखि भारतको माँ पाटेश्वरी देवीपाटनसम्म यस वर्ष हुने यात्रालाई थप भव्य र व्यवस्थित बनाइने भएको छ ।
सोही अनुसार दुवै देशबिच तयारी भइरहेको बताइएको छ । देवीपाटन महायात्रा तयारी समिति दाङ र भारत बलरामपुर स्थित देवीपाटनका मठाधीश सुरक्षाकर्मी र सञ्चारकर्मीसहित देवीपाटनमा सम्पन्न छलफलले यात्रालाई थप व्यवस्थित र भव्य बनाउने गरी थालिएको तयारीका सम्बन्धमा जानकारी आदानप्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै देवीपाटनका मठाधीश मिथलेशनाथ योगीले गत वर्षको अनुपातमा यात्रालाई अझ प्रभावकारी र व्यवस्थित बनाउने सवालमा आफू सचेत रहेको र सोही अनुसारको तयारी भइरहेको बताए । ‘गत वर्षको महायात्रा भव्य र राम्रो थियो तथापि केही कुरामा त्रुटि भएको हुनसक्छ तर यस वर्ष यात्रालाई कसरी अझ व्यवस्थित र परिस्कृत बनाउन सकिन्छ भन्ने सवालमा हामी लागेका छौँ’, उनले भने । देवीपाटन यात्रा धार्मिक यात्रा मात्र नभएर दुवै देशको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउँदै धार्मिक पर्यटन विकासको रूपमा अघि बढाउने आधार स्तम्भ भएको उनले बताए ।
सिद्धरत्ननाथ र देवीपाटन यात्राको महत्व र गरिमालाई सबैले थाहा पाउने गरी जनस्तरसम्म पु¥याउन दुवै देशले आआफ्नो तर्फबाट निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुने बताए । सो अवसरमा गोरक्ष पात्रदेवता सिद्धरत्ननाथका महन्त सुरतनाथ योगीले यात्रालाई भव्य बनाउन रत्ननाथ मन्दिरको तर्फबाट महायात्रा मूलआयोजक समितिसहित विभिन्न उपसमितिबाट काम भइरहेको बताए । यस वर्षको महायात्रा विगतको भन्दा अझ उच्च र भव्य बनाउने तयारीमा महायात्रा मूलआयोजक समिति र मातहतका विभिन्न उपसिमिति तयारीमा जुटेको बताए ।
‘प्राचीन समयदेखि यसैगरी यात्रा चल्दै आयो । गत वर्षदेखि यात्रालाई भव्य बनाउने कामको सुरुवात भयो, यसको सकारात्मक प्रभाव दुवै देशमा भयो । यस वर्ष अझ भव्य बनाउने गरी यात्राको तयारी गरेका छौँ’, महायात्रा मूलआयोजक समितिका अध्यक्ष सुरतनाथ योगीले भने, ‘यो यात्राले नेपाल–भारतको सम्बन्ध अझ उचाइमा लग्नेछ ।’ यस वर्षको सिद्ध रत्ननाथ देवीपाटन यात्राकाबखत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रदेशका पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने सहभागी हुने चर्चा छ । चैत १२ गते अर्थात् मार्च २५ का दिन घोराही–१७ चौघेरा स्थित सिद्धरत्ननाथ मन्दिरबाट देवीपाटनका लागि यात्रा सुरु हुनेछ ।
१२ गतेदेखि सुरु भएको यात्रा, लमहीको देउपुर, गढवा गाउँपालिका अन्तर्गत वडा नं. ६ मा पर्ने कोइलाबास कालीमन्दिर र भारतको जनकपुर सिद्धरत्ननाथ मन्दिरमा विश्राम लिँदै चैत्र २० गते विशाल झाँकीसहित माँ पाटेश्वरी मन्दिर पुग्ने कार्यतालिका रहेको महायात्रा मूल आयोजक समितिका सदस्य सचिव डा गोविन्द आचार्यले जानकारी दिए । चैत १२ गते सुरु भएको यात्रा चैत १७ गते कोइलाबासका लागि प्रस्थान हुनेछ । भारतको जनकपुरमा रहेको सिद्धरत्ननाथ मन्दिरमा एक रातको विश्रामपछि चैत २० गते पञ्चमीका दिन बिहान विशेष झाँकीसहित देवीपाटन (पाटेश्वरी) मन्दिर पुग्ने कार्यक्रम तय भएको छ । विसं ८०९ देखि देवीपाटनको यात्रा चल्दै आएको बताइन्छ । अहिले पनि यो यात्रा हरेक वर्ष हुँदै आएको छ ।
भेटघाटमा पूर्वसांसद अमरबहादुर डाँगी, गोरक्ष पात्रदेवता सिद्धरत्नाथ मठका सचिव डा भोलानाथ योगी, प्रचारप्रसार समितिका संयोजक तथा नेपाल पत्रकार महासघ दाङ अध्यक्ष सन्तोष सुवेदी, नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य लीला शाह, पत्रकार डा सुदीप गौतम, मठका कार्यालय सचिव हिरानाथ योगी, महायात्रा मूल आयोजक समितिका कोषाध्यक्ष, बलदेव योगी, आर्थिक संयोजक नरेश श्रेष्ठ, महायात्रा सल्लाहकार सन्तोष योगी, प्रेस क्लब भारत बलरामपुरका अध्यक्ष पत्रकार शुकदेव चौरसियालगायतको सहभागिता थियो ।