५ फागुन,घोराही।
आगलागीका घटनाबाट यसवर्ष दाङका दुई जना सहित देशभर ३ सय ३२ जना घाइते भएका छन् ।
जसमा यसवर्ष देशभर ७९ जनाको मृत्यु भएको छ । यता दाङमा भने आगलागीको घटनाबाट यसवर्ष कसैको पनि मृत्यु नभएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख यता मात्रै आगलागीबाट देशभर दुई हजार बढी घटना हुँदा ७९ जनाको ज्यान गएको हो ।
आगलागीबाट एक अर्ब ५९ करोड रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ । गृह मन्त्रालयले गर्मी मौसम बढेसँगै अब आगलागीका घटना बढ्ने भएकाले सतर्क हुन सबैमा अनुरोध गरेको छ ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार वैशाख यता दाङमा ३९ वटा आगलागीका घटना भएका छन् । जसबाट २ करोड ८० लाख ३६ हजार ६ सय २० रुपैयाँको क्षति भएको केन्द्रका प्रमुख विश्वराज अर्यालले जानकारी दिनुभयो ।
यस्तै गत वर्ष १ सय ७६ वटा आगलागीका घटना हुदा ५ करोड ५१ लाख ५७ हजार २ सय ८० रुपैयाँको क्षति भएको उहाँले जानकारी दिनुएको छ ।।