२०८१ चैत्र १० गते आइतवार

द्वन्द्वपीडितको समस्या समाधान गर्न विशेष कार्यदल : प्रधानमन्त्री



६ फागृुन , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र द्वन्द्व पीडितको समस्या सम्बोधन गर्न सरकारले एक विशेष कार्यदल बनाउने बताएका छन् ।  बालुवाटारमा आज द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीहरुसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । छलफलमा प्रधानमन्त्रीले भने, अब क्षमा र पीडितलाई आवश्यकताअनुरुपको सहयोगमार्फत द्वन्द्वका घाउहरुलाई क्रमशः पुर्दै लैजानुपर्छ । छलफलमा प्रधानमन्त्री ओलीले राज्यले शान्ति सुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशंका वा रिसिइबीमा मारिएका गरी तीन धारका द्वन्द्व पीडितहरु रहेको बताए ।

जतापट्टिबाट गोली चलेर मारिएको होस्, तिनमा आश्रित एकल महिला, उसका अभिभावक उसमा आश्रित सन्तानको पीडाहरु उस्तै उस्तै छन् उनले भने जुनसुकै तर्फबाट लडेको भए पनि अब प्रतिशोधको राजनीति गर्न नहुने उनले बताए । अब क्षमा गर र बिर्स’ को भावबाट जानुपर्छ,’ प्रधानमन्त्रीको भनाई थियो । ओलीले मैना सुनारको जस्तो जघन्य र गम्भीर प्रकृतिका घटनामा भने जोसुकैले पनि सजाय पाउने पनि प्रधानमन्त्रीले बताए ।

कार्यक्रममा द्वन्द्वपीडित सुरक्षाकर्मीको परिवारका तर्फबाट बोल्दै रीता सेनले सशस्त्र द्वन्द्वकालमा आफ्नो कर्तव्य पालन गर्दा कुल दुई हजार आठ सय ९४ जना सुरक्षाकर्मी मारिएको र झन्डै एक हजारजना घाइते भएको बताइन् । ती सुरक्षाकर्मी आश्रित परिवार र घाइते प्रहरीको अवस्था दयनीय रहेको पनि उनले बताइन् । सरकारले मृतक सुरक्षाकर्मीलाई सहिद घोषणा गरे पनि आफूहरुले त्यसबापत केही नपाएको र सत्य निरुपण तथा मेलमिलाप आयोगले आफूहरुलाई ‘पीडक’ भन्ने गरेको पनि उनले बताइन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्