२०८१ मङ्सिर १६ गते आइतवार

एकै दिन २० हजार सङ्क्रमित हुन सक्ने आकलन, नागरिकमा छैन साबधानी



४ माघ,घोराही –
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । दिनहुँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । तर, सङ्क्रमण रोकथामका लागि त्यसअनुसारको ध्यान भने दिइएको पाइएको छैन । केही दिनदेखि दैनिक ५/६ हजार जना नयाँ सङ्क्रमित थपिँदै छन् । यो सङ्ख्या अबको दुई हप्तासम्म अझै बढ्दै जाने विज्ञले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले सङ्क्रमण बढेर एकै दिन २० हजारसम्म पुग्न सक्ने अनुमान रहेको बताउनुभयो । यस्तै, सङ्क्रमतिमध्ये १० प्रतिशतलाई अस्पताल भर्ना गर्नु पर्ने अवस्था आउने पनि उहाँको अनुमान छ । सङ्क्रमण तीव्र गतिमा फैलिएर दैनिक २० हजार सक्रिय सङ्क्रमित थपिए ७ दिनमै १४ हजार बेड आवश्यकता पर्नसक्ने मन्त्रालयको प्रक्षेपण छ ।

माघ दोस्रो हप्तासम्म कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्ने सम्भावना रहेको विज्ञले बताएका छन् । यसैबीच, कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढे पनि पशुपतिनाथ मन्दिर, सार्वजनिक यातायात, बजारलगायत ठाउँमा भिड भने घटेको छैन । यसले जोखिम झनै बढाएको छ ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड सार्वजनिक यातायातमा पनि पालना भएको छैन । यातायात व्यवस्था विभागलगायत सरोकार भएका निकायले मापदण्ड पालनामा कडाइ गर्न सकेका छैनन् ।।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्