१ असोज, रूपन्देही – लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने भएपछि रूपन्देहीको भैरहवास्थित लुम्बिनी आँखा अस्पताल, दाङ्गको राप्ती आँखा अस्पताल, कपिलवस्तुको छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल र बाँकेस्थित फत्तेमान आँखा अस्पतालमामा यसको उपचारका लागि पठाउन थालिएको छ । यहाँका आँखा अस्पतालहरूमा उपचारका लागि पहाडी जिल्लाबाट सापू रोग लागेका बिरामी आउने क्रम बढ्न थालेको छ ।
बुटवलस्थित लायन्स आँखा अस्पतालका डा। उपेन्द्रदेव भारीका अनुसार यो रोग लागेका बिरामीका लागि तुरुन्त सर्जरी गर्न आवश्यक पर्ने भएकाले सबै ठाउँमा सम्भव नभएको र आफ्नो अस्पतालमा आएका यस्ता बिरामीलाई लुम्बिनी आँखा अस्पताल भैरहवा पठाएको बताए । कपिलवस्तुको छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका डा. शुभलक्ष्मी कटुवालका अनुसार केही दिनअघि अर्घाखाँचीबाट सापु रोगबाट प्रभावित बिरामीलाई उपचार गरिएको थियो ।
‘सेतो पुतलीको झुसले आँखामा छिट्टै रियाक्सन गरी आँखा बिगार्ने भएकाले तुरुन्तै विशेषज्ञ अस्पतालमा उपचार गर्न आवश्यक हुन्छ,’ उनले भनिन् । गण्डक क्षेत्रमा साउनदेखि कार्तिकसम्म यो खालको समस्या बढी देखिएको र एक वर्ष बिराएर यसले प्रभाव देखाउने भएकाले यसबाट सचेतना अपनाउन पर्ने डा। कटुवालको सुझाव छ । सो अस्पतालका प्रशासन प्रमुख जसराज बिकले सापु रोगको उपचारका लागि अस्पतालमा तयारी रहेकाले यस्ता लक्षण देखिएमा तुरुन्त अस्पतालमा पठाउन सबैलाई आग्रह गरिएको बताए ।
रूपन्देहीको भैरहवास्थित लुम्बिनी आँखा अस्पताल भैरहवामा एकहप्ताको अन्तरालमा ७ जना सापू रोगीको उपचार भएको सो अस्पतालले जनाएको छ । एक जनाबाहेक अन्य सबै १० वर्षमुनीका बालबालिका छन् । केहीको आँखा बच्ने सम्भावना निकै न्यून छ । सन् १९७५ मा नेपालमा पहिलोपल्ट देखिएको सापू रोग प्रत्येक दुई–दुई वर्षमा देखिने गरेको छ । खासगरी अहिलेको सिजनमा सेतो पुतली बढी सक्रिय हुने भएकाले सापू रोगी बढी रहेका छन् । लुम्बिनी प्रदेशका प्यूठान, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीमा यो रोग बढी देखिएको चिकित्सकले बताएका छन् ।। नेपालप्रेसबाट