२०८१ फाल्गुन ३ गते शनिवार

चाडपर्वलाई लक्षित गर्दै दाङमा सुपथ पसल सञ्चालनमा



१ असोज, घोराही –
सरकारले दाङमा उपभोक्ताहरुलाई चामल, चिनी र नुन सहुलियत मूल्यमा उपलब्ध गराउनसुपथ मूल्यको पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा तुलसीपुरले चामल र साल्ट ट्रेडिङ कर्पोरेसन दाङ शाखा घोराहीले चिनी र नुन सहुलियत मूल्यमा विक्रि गर्न लागेका हुन् ।

आउदै गरेका दसैंतिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले दाङका दुई स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा तुलसीपुरले ५ प्रकारका चामलमा प्रतिकिलो ५ रुपैयाँका दरले छुट दिएको जनाएको छ ।

जस अनुसार स्टीम जिरा मसिनो चामल प्रतिकिलो ६० रुपैयाँ, सावा स्टीम मसिनो चामल ५७ रुपैयाँ, सावा मसिनो चामल ५५ रुपैयाँ, सोना मन्सुली ४६ रुपैयाँ र अरुवा मोटो चामल ४२ रुपैयाँ प्रतिकिलो विक्रि गर्ने निर्णय भएको निमित्त शाखा प्रमुख नकुल चौधरीले जानकारी दिनुभयो ।

तुलसीपुरको हात्तिखौवामा रहेको कार्यालयबाटै विक्रि सुरु भएको र कार्तिक २४ गते सम्म २ सय क्विन्टल चामल विक्रि गर्ने लक्ष्य रहेको उहाँको भनाई छ । एक जनालाई २ बोरा सम्म चामल दिन सकिने भन्दै उहाँले २५ र ३० किलोका बोरा रहेको बताउनुभयो ।

यता साल्ट ट्रेडिङ कर्पोरेसन दाङ शाखा घोराहीले चिनी र नून सहुलियतमा विक्रि गर्ने बताएको छ । बजार मुल्य भन्दा चिनीमा ११ रुपैयाँ र नुनमा ७ रुपैयाँ प्रतिकिलो सहुलियत मूल्यमा विक्रि गर्ने शाखा प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

नून विक्रि सुरुभएको तर चिनी भने अझै आईनपुगेको उहाँले बताउनुभयो । तुलसीपुर चोक स्थित महरा पेट्रोल पम्प देखी पश्चिम तर्फ सहुलियत मूल्यको पसल रहेको उहाँको भनाई छ । एक जनाले नुन ६ किलो र चिनी २ किलो सम्म किन्न पाउने छन् ।

चाडपर्वका समयमा हुने अनावश्यक मूल्य वृद्धिको समस्या रोक्न र बजार मूल्य हस्तक्षेप गर्न सहुलियत मूल्य पसलले सहयोग गर्ने भएकाले पनि चाडपर्वमा उपभोक्ताहरू माझ यसको महत्व बढेको कम्पनीले बताएको छ।।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्