३ असार, काठमाडौं –
कोभिड १९ व्यवस्थापन निर्देशक समितिले अब ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको हो ।
अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ ।
प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको समितिको बैठकले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सङ्क्रमणको जोखिम नहुने हदसम्म खुकुलो गर्न सकिने निर्णय गरेको हो ।
नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजारजना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् ।
बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।
बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइनेसमेत निर्णय गरेको छ ।।