४ बैशाख,घोराही ।
घोराही उपमहानगरपालिका १९ सैघामा निर्माण गरिएको ‘घनस्याम बलबहादुर स्मृती लोकमार्ग’को उद्घाटन गरिएको छ । राम्चे देखी मोपुल हुदै बंगलाचुलीको स्युजा जोड्ने करिब १२ किलोमिटर सडकको घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले उद्घाटन गर्नुभएको हो ।
नगर स्तरीय ४५ लाख र वडा स्तरीय ४० लाखगरि ९५ लाख रुपैयाँको लागतमा घनस्याम बलबहादुर स्मृती लोकमार्ग निर्माण गरिएको वडा अध्यक्ष हर्कबहादुर घर्तीले जानकारी दिनुभएको छ ।
सडकको उद्घाटन गर्दै नगर उपप्रमुख न्यौपानेले भौगोलिक विकटतामा रहेको सैघालाई सुगमता सँग जोड्न सडक पूर्वाधारमा नगरले बिषेश ध्यान दिएको बताउनुभयो ।
सडक सञ्जालले छुन नसकेको सैघालाई स्थानिय सरकार गठन भए पश्चात सडक पूर्वाधारलाई प्राथमिकता दिएको उहाँको भनाई छ । अब स्थानियहरुले सडक पूर्वाधारको उपभोग गर्दै कृषिजन्य बस्तुहरुको व्यवसायिक उत्पादनलाई बजार सँग जोड्नुपर्ने बताउनुभयो ।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्यबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा नगरका प्रबक्ता भरतमणि अर्यालले दुर्गम सैघालाई शहर सँग जोड्न सडक र बिजुलीलाई प्राथमिकतामा राखेर काम गरिहेको जानकारी दिनुभयो ।
उक्त सडक निर्माण भए सँगै राम्चे, पाखापानी, खरकूल, बडचौर, यरीबाङ, घोडधारा, सैघा, होडबाङ, गोठीवन, सातम, लिथान, मोपुल, दम्ती, डाँडागाउँ सँगै बंगलाचुलीका स्थानियहरुलाई घोराही बजार आउन जान सहज भएको छ