३ चैत,घोराही –
जिल्ला प्रहरी कार्यालय दाङले खुशियाली साटासाट गरी मनाइने होली (फागु) पर्व मर्यादित रुपमा मनाउन अनुरोध गरेको छ । आज र भोली मनाइने होली पर्वका अवसरमा देश÷विदेशमा रहनुहुने सबै नेपालीलाई शुभकामना दिँदै कार्यालयले सार्वजनिक अपिल जारी गरी धार्मिक र सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य भएर होली पर्व मनाउन आग्रह गरेको हो ।
पर्व मनाउने नाममा इच्छा विपरीत जबर्जस्ती, अमर्यादित, गैरकानूनी र उच्छृङ्खल किसिमका गतिविधि प्रचलित कानून विपरीत हुने भएकाले यसतर्फ सचेत हुन आग्रह गरेको छ । विज्ञप्तिमा कोही कसैको इच्छा एवं स्वीकृति बेगर कानून विपरीतका कार्य गरेमा कारवाही गरिने उल्लेख छ ।
यसैविच होली पर्वमा इच्छा विपरित रंग दल्ने वा लोला हान्ने व्यक्तिलाई सार्वजनिक मुद्दा चलाईने प्रहरीले जनाएको छ । यस वर्षको होलीलाई लक्षित गरि दाङ प्रहरीले विशेष सुरक्षा योजना समेत लागू गरेको छ ।
प्रहरीले सकेसम्म होली पर्वलाई सुन्दर अनि शान्त पर्व बनाउने प्रयास गरेको बताएको छ । प्रहरीले यदि कसैको ईच्छा विपरीत रंग लगाईएको पाइएमा तुरुन्त पक्राउ गरि हिरासत लैजाने जनाएको छ । यस्तै कसैले ईच्छा विपरित कार्यगरेमा नजिक रहेको प्रहरी कार्यालयमा जानकारी दिन वा सम्पर्क गर्न आग्रह गरेको छ ।।