२०८२ बैशाख १८ गते बुधवार

दाङमा नियम विपरित सवारी चलाउने चालकमाथि प्रहरीले बढायो निगरानी



४ चैत,घोराही ।
दाङमा नियम विपरित सवारी चलाउने चालकमाथि प्रहरीले निगरानी बढाएको छ । ट्राफिक प्रहरीले जिल्लामा चालुवर्षको सात महिनामा नियमविपरित सवारी चलाउने ४१ हजार बढी सवारी चालकलाई कार्बाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीका अनुसार बितको सात महिनाको अवधिमा ४१ हजार ५० सवारी चालक कार्बाहीमा परेका छन् । ट्राफिक प्रहरीले नियमविपरित सवारी चलाउने चालकबाट सात महिनाको अवधिमा २ करोड ४७ लाख ४० हजार ५ सय राजश्व संकलन गरेको छ ।

कार्बाही पर्नेमा सबैभन्दा बढी दुई पांग्रे सवारीका चालक रहेका छन् । प्रहरीले ७ महिनाको अवधिमा १४ हजार ३२६ दुई पांग्रे सवारी चालकबाट ९४ लाख ४५ हजार राजश्व संकलन गरेको छ । त्यसैगरी ४ हजार ४४२ जिपकारबाट २५ लाख ३३ हजार ५ सय रावश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु वर्षको साउनदेखि फागुन मसान्तसम्म ३ हजार ४३३ वटा बस कार्बाहीमा परेका छन् भने १९ लाख १९ हजार ५ सय राजश्व संकलन गरिएको छ ।

त्यसैगरी ११ हजार ९७१ ट्याक्टर चालक कार्बाहीमा पर्दा १९ लाख ४६ हजार ५ सय, ३ हजार ४२५ ट्याक्टर चालक कार्बाहीमा पर्दा १९ लाख ४६ हजार ५ सय र ३ हजार ४५५ अटो चालक कार्बाहीमा पर्दा २० लाख २६ हजार राजश्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख जिसीले जानकारी दिनुभयो । मापसे गरेर सवारी चलाउने, सिटबेल्डको प्रयोग नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी चालक अनुमतिपत्र, ब्लुबुक नबोक्ने, सवारी चलाउँदा मोबाईलमा कुराकानी गर्ने, पार्किङस्थलभन्दा बाहिर पार्किङ गर्ने सवारी चालकलाई कार्बाही गर्ने गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्