२०८२ बैशाख १२ गते बिहिवार

भागरथीका ‘हत्यारा’ पक्राउ गर्न सफल भएको भन्दै गाउँलेले गरे प्रहरीको सम्मान



५ फागुन । बैतडीको डोगदाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोर भागरथी भट्टको बलात्कार पछि हत्या प्रकणमा दोषी पक्राउ गर्न सफल भएको भन्दै स्थानीयले प्रहरीलाई सम्मान गरेका छन् ।
भागरथीको बलात्कार पछि हत्या घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुलाई गाउँलेहरुले फूलमालासहित सम्मान गरेका हुन्।

भागरथीको हत्याको १४ औं दिन घटनामा संलग्न भएको भन्दै १ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भागरथी नै अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरेको थियो ।

घटनामा संलग्न दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयबासिन्दा र गाउँपालिकाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसहितका प्रहरीलाई फूलमाला लगाएर सम्मान गर्दै बिदाई गरेका हुन्।

भागरथी हत्याको अनुसन्धानमा डीआईजी सुवेदीसहित एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० डीएसपी पञ्चकुमार बाखु, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी लगायत खटिएका थिए ।

दोषी पत्ता लगाउन सफल भएको भन्दै बुधबार बिहान उनीहरुलाई फूलमालासहित सम्मान गरेर बिदाई गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सुवेदीले गाउँलेहरुले सम्मान गरेपछि खुसी लागेको बताए ।

‘प्रहरीको मेहनतले सफलता पाएको छ । प्रहरीको अनुसन्धानमा गाउँलेहरुको निकै महत्वपूर्ण सहयोग थियो । म सबैलाई धन्यवाद दिन चाहन्छु,’ डीआईजी सुवेदीले भने ।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्