४ माघ,घोराही।
घोराही उपमहानगरपालिकाले यसबर्षको चौथो मेयरकप रनिङ शिल्ड फुटवल र दोस्रो उपमेयर कप छात्रा भलिबल प्रतियोगिता आजबाट सुरु गरेको छ । घोराही उपमहानगरपालिका १८ नवलपुर खेल मैदानमा फुटबल र भलिबल प्रतियोगिताको प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले द्घाटन गर्नुभएको हो ।
प्रतियोगिता अन्तरगत फुटबल आजैबाट सुरु भएको छ भने भलिबल पर्सिबाट सुरु हुने भएको छ । खेलको उद्घाटन गर्दै प्रदेससभा सदस्य डाँगीले खेल क्षेत्रको अनुशासन राजनितिक र समाजमा आबस्यक परेको बताउनुभयो ।
अनुशासन र मेहनतले मात्रै खेल क्षेत्रमा सफलता मिल्ने भन्दै उहाँले यसलाई सामाजिक हरेक क्षेत्र सँग जोड्न आबस्यक रहेको बताउनुभयो । व्यक्तिको स्वास्थ्य देखी राष्ट्रको पहिचान उचो राख्ने क्षेत्र खेल भएको उहाँको भनाई छ ।
अनुशासन र गतिशिलता प्रदान गर्ने माध्यम नै खेल भएको भन्दै उहाँले स्थानिय सरकारले विद्यालय स्तरबाटै खेललाई प्रथामिकता दिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले खेल र खेलाडीको विकासका लागि स्थानिय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सक्षम नागरिक बनाउन खेल क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाई छ । सामाजिक विकास र राष्ट्रिय पहिचानमा खेल क्षेत्रले ठूलो योगदान पु¥याएको भन्दै वडा स्तरबाटै यस तर्फ विषेश ध्यान दिईएको बताउनुभयो ।
त्यसैगरी, उपप्रमुख सीता सिग्देल न्यौपानेले उत्कृष्ठ र सक्षम खेलाडी तयार पार्न एक वडा एक मैदान तयार भएको बताउनुभयो । साथै युवायुवतीहरुलाई खेल क्षेत्रमा आकर्षित गर्ने र अनिवार्य बनाउन विद्यालय स्तरबाटै लगानी बढाएको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपमहानगरका सामाजिक विकास समितिका संयोजक भरतमणि अर्याल, वडा नम्बर ५ का अध्यक्ष विष्णुमणि दाहाल, पद्मोदय पब्लिक नमूना मावि भरतपुरका प्रधानाध्यापक रामप्रसाद जैशी लगाएतकाले खेल आधारभूत आबस्यकता भित्रको पक्ष भएको बताउनुभयो । कार्यक्रमको सहजिकरण शिक्षा युवा तथा खेलकूद महाशाखाका विपना बर्ताैलाले गर्नुभएको थियो ।
यसैविच आज भएको उद्घाटन खेलमा घोराही उपमहानगरपालिका वडा नम्बर १६ का खेलाडीलाई वडा नम्बर १८ का खेलाडीले एकका बिरुद्ध ६ गोलले पराजित गरेका छन् ।
वडा नम्बर १८ का महेश बुढाले २ गोल, रविन रोका, सुमित खत्री, आशिक पुन र साहास रोकाले एक एक गोल गर्नुभएको छ । त्यस्तै वडा नम्बर १६ का किशोर घर्तीले एक गोल गर्नुभएको थियो ।
भोली मध्यान्न १२ बजे वडा नम्बर १० र १७ तथा दिउसो २ बजे वडा नम्बर १ र ८ बिच खेल हुने खेल व्यवस्थापक नरेन्द्र पुनले जानकारी दिनुभएको छ ।।