१ पुस,घोराही – दाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषि जोन कार्यक्रम लागू भएपछि कृषि उत्पादन तथा व्यवस्थापनमा किसानहरुलाई सहज हुन थालेको छ ।
घोराहीमा माहुरी जोन, देउखुरीमा मकै जोन, र पश्चिम दाङमा तोरी जोन इकाई लागू भएका छन् । यस्ता कृषिजन्य परियोजना लागू भएपछि दाङका कृषकहरु खुशी भएका हुन् ।
कृषिमा आधारित अर्थतन्त्रलाई कृषिजन्य उद्योगमा रुपान्तरित गर्दै आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर बनाउनु यो कार्यक्रमको लक्ष्य रहेको परियोजनाले जनाएको छ ।
जोन कार्यक्रम २०७३ /०७४ देखि दाङका सबै पालिकामा सञ्चालित छ । दाङमा मकै सुपर जोन, तोरी जोन र मौरी जोन गरी तीनवटा क्षेत्रमा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
२०७७/०७८ को अन्तसम्ममा मकै सुपर जोनमा २९ सय हेक्टर, तोरी जोनमा सात सय ५० हेक्टर र मौरी जोनमा १३ हजार चार सय घारमा बिस्तार भएको छ । मकै सुपर जोनमा १०१, तोरी जोनमा ४३ र मौरी जोनमा एक सय ४२ वटा सहकारी, समूह, नीजी उद्यमी र व्यावसायी आबद्ध भएका छन् ।।