१ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन माग गरेको छ।
सरकारले मंगलबार ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक र संविधानको भावनाविपरीत भएको बताउँदै तरुण दलले बुधबार एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन र प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको हो।
‘सम्माननीय राष्ट्रपतिज्यूको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षकजस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ’, अध्यक्ष जीतजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
लामो समयदेखि संसदलाई बन्धक बनाएर र उप–सभामुख पद खाली राखेर प्रधानमन्त्री ओलीले स्वेच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावनाविपरीत रहेको तरुण दलको ठहर छ। अध्यादेश तुरुन्त फिर्ता लिन र जारी अध्यादेशलाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न अनुरोधसमेत विज्ञप्तिमा गरिएको छ।