२०८१ मङ्सिर २४ गते सोमवार

ट्राफिक सचेतना बढाउँदै दाङ प्रहरी, नियम पालनामा मानिसको लापरवाही



घोराही, ३१ भदौ –
सहरी क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गत बैशाख र जेठमा घोराहीका विभिन्न चोक तथा भीडभाड हुने स्थानमा सडकहरु पार गर्नका लागि जेब्राक्रस बनाइएको भएपनि प्रयोग भने अत्यन्त कम हुने गरेको छ ।

जेब्राक्रस प्रयोग नगरी सडक वारपार गर्दा दुर्घटनाको जोखिम हुने भएको हुँदा मानिसहरुको लापरबाहीका कारण जेब्राक्रसको पालना नहुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जिसीले जानकारी दिनुभएको छ ।

ट्राफिक प्रहरी हुने स्थानमा सडक जथाभावीरुपमा काट्ने मानिसहरुलाई सम्झाएर जेब्राक्रसबाट सडक काट्न लगाउने गरे पनि ट्राफिक प्रहरी नहुने स्थानमा नियमको पालना नहुने गरेको उहाँको भनाई छ ।

सडकमा जेब्राक्रस भए पनि सचेतनाको कमीसँगै मानिसहरुको लापरबाहीका कारण जेब्राक्रसको प्रयोग हुन नसकेको उहाँले बताउनुभयो । जेव्राक्रसको पालना हुन नसक्नुका साथै सडक मिचेर गरिने व्यापार तथा पार्किङका कारण दुर्घटनाको जोखिम हुने उहाँको भनाई छ ।

जिल्लाको शान्ति सुरक्षा, आपराधिक गतिविधि नियन्त्रणका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि समेत प्रहरीले सक्रियता देखाएको छ । सडक सुरक्षाका माध्यमबाट दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले सडक सुरक्षाका कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्