३१ भदौ,घोराही –
भोलिदेखि दाङसहित देशभर ४३ स्थानमा सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ ठाउँमा पसल सञ्चालन गर्ने जनाएको हो ।
सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार कम्पनीले यसपालि चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा १० रुपैयाँ छुट दिनेछ ।
कम्पनीले दाङ, नेपालगञ्ज, बुटवल, बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, पोखरा, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायतका ठाउँबाट खाद्य वस्तु बिक्री वितरण गर्ने जनाएको छ । सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।।