३१ भदौ, घोराही-
घोराहीमा रहेको कटुवाखोला पुल निर्माण सम्पन्न नहुँदै बिग्रिएको छ । पुल हस्तान्तरण नहुँदै दुबैतिरको एप्रोच भागको जडान र बीच भागको ढलान निकालेर मर्मत गर्नुपर्ने अवस्थामा पुगेको हो ।
२०७१ साल भदौ ११ गते निर्माण सम्झौता भएको कटुवाखोला पुल अहिलेसम्म हस्तान्तरण हुनसकेको छैन । पटक पटक डिजाइन परिवर्तन र ढिलासुस्तीले समयमै पुल निर्माण भएन भने गुणस्तरीय काम नहुँदा अहिले मर्मत गर्नुपर्ने अवस्था आएको हो ।
शंकरमाली निर्माण सेवाले जिम्मा लिएको उक्त पुल सञ्चालनमा आएको केही समयमै जीर्ण अवस्थामा पुगेको छ । २०७१ साल भदौमा निर्माण सम्झौता भएको पुल २०७३ साल कार्तिक १० गते निर्माण गरिसक्नुपर्ने अवधि रहेको थियो ।
तर डिजाइन परिवर्तन गर्दा र निर्माण व्यवसायीको ढिलाइकारण २०७५ साल मंसिर २३ गतेसम्म म्याद थप भएको थियो । तर अहिले पुल निर्माण भइनसक्दै फेरि भत्किने अवस्थामा पुगेपछि म्याद थप गर्ने गृहकार्यमा लागेको कार्यालयको भनाइ छ । कार्यालयका सूचना अधिकारी अमिर सुवेदीले पुल माथिको ढलान उप्किएको र एक्स पान्सन जोइन्ट टुटेकाले मर्मत गर्न लागेको बताउनुभएको छ ।।