२०८१ चैत्र ११ गते सोमवार

घोराही–मुर्कुटी सडक सुधार सरोकार समिति गठन



३२ साउन, घोराही –
घोराही–मुर्कुटी सडक कालोपत्रे गरेको एक महिना मै भताभुंग भएपछि सडक सुधारका लागि दबाब दिन समिति गठन भएको छ । घोराही लमही सडकको कटुवाखोला पुल, ट्राफिकचोक नवलपुरहुँदै सिस्नेखोला आसपास क्षेत्रका दुई दर्जन बढी टोल विकास संस्थाहरुको आज बसेको आम भेलाले घोराही–मुर्कुटी सडक सुधार सरोकार समिति गठन गरेको हो ।

नारममणि पोख्रेल संयोजक र टेकबहादुर घर्ती सहसंयोजक रहेको समितिमा सो क्षेत्रका सबै टोल विकास संस्थाहरुका प्रमुख सदस्य रहेका छन् ।भेलामा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओली, घोराही १८ का अध्यक्ष भरत अर्याल, बंगलाचुली ४ का अध्यक्ष नारायण डाँगीको समेत सहभागिता रहेको थियो ।
भेलाले जिल्ला प्रशासन, सडक डिभिजन र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । घोराही–मुर्कुटी सडकखण्डका विभिन्न स्थानका खाडलहरु तत्काल पुर्न माग गर्दै त्यसो नभए टिप्पर बन्दलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय भएको छ ।

नवलपुरलगायतका क्षेत्रमा गाडी मर्मत, पालो पर्खने बहानामा ठूलो संख्यामा टिप्परहरु घण्टौंसम्म सडकमा पार्किङ हुँदा अन्य सवारीका साधन र पैदलयात्रुका लागि कष्टकर हुने भएकाले सडक क्षेत्रको पार्किङ हटाउन पनि भेलाले माग गरेको छ ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ४ ले भोलिदेखि साँझ ७ बजेदेखि विहान ६ बजेसम्ममात्रै टिप्पर चल्न दिने गरेको निर्णयप्रति आम भेलाबाट एक्येबद्धता जनाउँदै कुनै निश्चित खण्डमा मात्र नभई उद्योगदेखि खानीस्थलसम्म नै सो समय लागु गर्न माग गरिएको संयोजक पोख्रेलले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्