३२ साउन, घोराही-
सल्यानमा विभिन्न साइनो लगाएर विभिन्न व्यक्तिसँग लाखौँ रकम तथा सुन ठगी गर्ने एक जना पक्राउ परेका छन् । कसैसँग काँचो सुनको व्यापारी, कसैसँग जग्गा व्यापारी तथा कसैसँग आफूलाई ठेकेदार हुँ भन्दै धर्म बहिनी, प्रेमिका वा विभिन्न साईनो सम्बन्ध बनाई विस्वासमा पारी लाखौँ रकम र सुन ठगी गरी फरार रहेका कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ४ का २६ वर्षिय निरम कुमार शाही पक्राउ परेका हुन् ।
उनलाई महानगरीय अपराध महाशाखा काठमाडौसँगको समन्वयमा काठमाडौबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पक्राउ परेका शाहीले अन्य ठाउँमा पनि ठगी गरहेको हुन सक्ने भन्दै सल्यान प्रहरीले सम्पर्क गर्न आग्रह गरेको छ । उनीमाथि जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।।