२ असार, घोराही – लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को कुल गार्हस्थ उत्पादन रू. ६ खर्ब ५ अर्ब रहेको आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले जानकारी दिनुभएको छ । देशको कुल गार्हस्थ उत्पादनमा प्रदेशको योगदान १४ प्रतिशत रहेको छ भने प्रदेशमा सबैभन्दा बढी योगदान कृषिक्षेत्रको ४५.५ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.३७ प्रतिशत हुने अनुमान रहेको छ जुन नेपालको चालु आर्थिक वर्षको अनुमानित आर्थिक वृद्धिदर ५.४ को नजिक रहेको छ ।
लुम्बिनी प्रदेशको प्रतिव्यक्ति आय ११०३ अमेरिकी डलर पुगेको बताइएको छ । चालु आर्थिक वर्षको जेठ ३० गतेसम्ममा प्रदेश सञ्चित कोषमा नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानबापत रू. ८ अर्ब २ करोड ५७ लाख, सशर्त अनुदानबापत रू. ४ अर्ब ११ करोड ६ लाख, समपुरक अनुदानबापत रू. ७२ करोड १६ लाख र विशेष अनुदानबापत रू. ६३ करोड ४९ लाख प्राप्त भएको प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री खड्काले जानकारी दिनुभयो ।
संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट रू. ७ अर्ब ८७ करोड ४६ लाख, रोयल्टी बाँडफाँडबाट रू. २६ करोड १० लाख¸ स्थानीय तह राजस्व बाँडफाँडबाट रू. १ अर्ब १६ करोड २८ लाख र प्रदेश सरकारको आन्तरिक राजस्व संकलनबाट रू. ३ अर्ब ४९ करोड ११ लाख जम्मा भएको उहाँले बताउनुभयो । गत आर्थिक वर्षबाट बचत भई सञ्चित कोषमा मौज्दात रहेको रू. ४ अर्व ४४ करोड समेत गरी प्रदेश सञ्चित कोषमा कुल रू. ३० अर्ब ७२ करोड ५४ लाख प्राप्त भएको उहाँको भनाई छ ।
यस्तै, स्थानीय तह वित्तीय हस्तान्तरण रू. ३ अर्ब २ करोड १९ लाख, पुँजीगत खर्च रू. ९ अर्ब ९५ करोड ४० लाख र चालु खर्च रू. ५ अर्ब १३ करोड ५६ लाख गरी जम्मा रू. १८ अर्ब ११ करोड १५ लाख खर्च भई रू. १२ अर्ब ६१ करोड ३९ लाख प्रदेश सञ्चितकोषमा बाँकी रहेको तथा कुल विनियोजनको ४४.२ प्रतिशत खर्च भएको उहाँले बताउनुभयो ।।