२ असार, रोल्पा –
रोल्पामा बालिकामाथि जबरजस्ती करणीको आरोपमा एक जनप्रतिनिधि पक्राउ परेकाछन् । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिका–६ जुगारका ३५ वर्षीय मोहन केसी पक्राउ परेका छन् । केसी उक्त वडाका निर्वाचित वडा सदस्यसमेत हुन् ।
प्रहरीका अनुसार माडी गाउँपालिका–१ झिनुवा गाउँकी बालिकालाई ललाइफकाइ गरी जबरजस्ती करणीमा संलग्न भएको अवस्थामा प्रहरीले उक्त स्थानबाट पक्राउ गरेको हो । गत जेठ ३० गते दिउँसो १२ः३० बजेको समयमा केसीलाई इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरी निरीक्षक देवराज भट्टराई नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
जबरजस्ती करणी अभियोग लागेका केसीलाई प्रहरीले नियन्त्रणमा लिई रोल्पा अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अघिल्लो वर्ष पनि जबरजस्ती करणीका मुद्दा मिलापत्र गराएको आरोपमा पूर्वी रोल्पास्थित लुंग्री गाउँपालिकाका केही निर्वाचित जनप्रतिनिधिलाई समेत पक्राउ गरिएको थियो ।।