३ बैशाख, घोराही – राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति दाङले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोराही उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा उम्मेदवार छनोट गरेको छ । चित्रबहादुर केसीले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चाबाट अलग भएको सो पार्टीले शनिबार घोराहीमा पत्रकार सम्मेलन गरि नगर प्रमुखमा लिलाबहादुर पुन र उपप्रमुखमा बसन्ता भट्टराईलाई उम्मेदवार बनाउने घोषणा गरेको हो । शनिबार घोराहीमा बसेको पार्टीको नगर कमिटी बैठकले उम्मेदवार छनोट गरि यही बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट होमिने बताएको हो ।
पत्रकार सम्मेलनमा नगर प्रमुखका उम्मेदवार पुनले देश आर्थिकरुपमा बलियो भए मात्रै विकास निर्माण र समाज परिबर्तन गर्न सम्भब हुने बताउनुभयो । अनेक आशा र आश्वासन बाढ्न उचित नहुने भन्दै उहाँले अर्थतन्त्र सुधार गरेर मात्रै सबथोकको विकास गर्न सम्भब हुने धारणा राख्नुभयो । सानो मुखले ठूलो कुरा गर्न नहुने भन्दै उहाँले अबस्था हेरेर विकास हुने र गर्न सकिने बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रामबहादुर जिएमले पाँच दलिय गठबन्धनलाई अपवित्रको संज्ञा दिनुभयो । यो गठबन्धन जति समय टिक्यो त्यती धेरै देशलाई घाटा हुने उहाँको भनाई छ ।
देशको अर्थतन्त्र ध्वस्त भएको, महंगी बढेर जनता बाँच्नै मुस्किल भएको अबस्थामा गठबन्धन गरेर फेरी पनि जनतालाई मारमा पार्ने र आफुहरु रजाँई गर्ने दाउमा रहेको टिप्पणी गर्नुभयो । चित्रबहादुर केसीले नेतृत्व गरेको पार्टी किसान मजदुरको बिचमा जानुपर्ने भए पनि कांग्रेस माओबादीको पछि लागेर सत्ता मोहमा फसेपछि आफुहरु बिद्रोह गरेर समानान्तर गतिबिधीमा लागेको स्पष्ट पार्नुभयो ।
सत्ताको दुरुपयोग गर्ने, विरोधको नाटक गरेर एमसीसी पास गर्ने काममा लागेको भन्दै उहाँले जनमोर्चालाई सरकारी पार्टी भएको बताउनुभयो । संसद विघठन गर्दा केपी ओलीले प्रतिगामी काम गरेको तर अहिले ५ दलिय गठबन्धनका नाममा उनिहरु नै त्यहीबाटोमा लागेर देशलाई बर्बादिमा पारेको आरोप लगाउनुभयो । सो पार्टीले छिट्टै अन्य पालिका र वडाहरुमा पनि उम्मेदवारको टुंगो लगाउने नगर सचिब मंगल घर्तीले जानकारी दिनुभयो ।।