२०८१ चैत्र ११ गते सोमवार

कर्णालीमा कांग्रेसको निर्णय : मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने



३ बैशाख,घोराही । कर्णाली प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने भएको छ। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले यस्तो जानकारी दिएका हुन्।

उनले कांग्रेसले कमजोरलाई सघाउने भन्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने जानकारी दिए। ‘मतदान, रक्तदान र कन्यादानमा पैसा खान मिल्दैन, हामीले दान दिने कुरामा हेर्‍यौँ’, उनले भने, ‘कांग्रेसले माथिबाट पनि हामीलाई भन्यो। त्यसैले हामी मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्दैछौँ।’

उनले नेकपा एमालेसँग १९ जना रहेकोमा कांग्रेसबाट ६ जना गए सरकार बनिजाने कुरा भन्दा कमजोरलाई सघाउन लागेको बताए। ‘एमालेको १९ जना सांसद पुगेकोमा ६ जना गएमा मन्त्रालय त पाइ जान्छ नि भन्‍ने कुरा छ’, उनले भने, ‘माओवादीको १२ जनामा कांग्रेसका ६ गयो भने १८ हुन्छ मात्रै हुन्छ। तर हामी तल परेका साना निमुखाहरुलाई तान्‍ने कुरामा विश्वास गर्छौँ। हामी प्रमुख प्रतिपक्षी पनि नरहेकाले हामी मुख्यमन्त्रीको पक्षमा उभिने छौँ।’

शाहीले सत्ताको लोभले एमालेतिर जान लागेको भन्ने आरोपको पनि खण्डन गरे। ‘सत्ताको लोभले ढुलमुल गर्यो नभन्‍नु। हामीले मुख्यमन्त्रीलाई भोट हाल्दा पनि माओवादीको बहुमत पुग्दैन’, उनले भने, ‘हामीले राम्रैसँग जानेर यो निर्णय लिएका हौँ, हामी मुख्यमन्त्रीको प्रस्तावको पक्षमा भोट हाल्छौँ।’

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्