४ फागुन,घोराही – आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी भए पनि सत्ता गठबन्धनबीच अझै सहमति भएको छैन । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज एमसीसी सम्झौता टेबल गर्ने तयारी गर्नु भएको छ तर नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी यथास्थितिमा एमसीसी टेबल गर्ने पक्षमा छैनन् । यसले आजको संसदमा एमसीसी टेबल हुनेमा अन्यौल बढाएको छ ।
माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन नगर्ने निर्णय नै गरेको छ । हिजो बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धनमा सहमति नजुटाई एमसीसी अनुमोदन प्रक्रिया अगाडि बढाए सरकारबाट बाहिरिने निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । एमसीसी टेबल नहुने सम्भावना बढेपछि संसद बैठक अघि आज तीन दलका प्रमुख नेताबीच छलफल हुँदैछ ।
एमसीसीबारे प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच हिजो पनि छलफल भएको थियो । प्रचण्ड र नेपालले एमसीसीमाथि पार्टीमा आन्तरिक छलफल भइरहेकाले हतार नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले पनि एमसीसीबारे थप छलफल गर्न संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।।