२९ कात्तिक,घोराही – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा साना तथा ठुला अप्रेसन गर्नका लागि चार वटा नयाँ अत्याधुनिक ओटि रुम सन्चालनमा आएको छ । बिगतमा सामान्य र जटिल अप्रेसन गर्नका लागि ओटि रुम २ वटा हुँदा पालैपालो सबै विशेषज्ञ चिकित्सकहरुले गर्नु पर्ने अबस्था रहेकोमा अहिले थप ४ वटा नयाँ ओटि सन्चालनमा ल्याएर सेवा बिस्तार गरिएको हो ।
नयाँ ओटिबाट आइतबारदेखि बिरामिको अप्रेसन गर्न सुरु गरिएको छ । नयाँ ओटि सन्चालनमा आएसंगै बिरामीहरुको उपचारमा थप सहजता आएको प्रतीष्ठानकी अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेतले बताउनु भयो । नयाँ ओटिमा अप्रेसनका लागि नयाँ-नयाँ अत्याधुनिक उपकरणको र थप विशेषज्ञ चिकित्सकको ब्यबस्था मिलाइएको उहाँले जानकारी दिनु भयो ।
त्यसैगरेर आइतबारदेखि नै २५ बेडको प्राइभेट वार्ड सञ्चालनमा आएको अस्पताल निर्देशक डा. बस्नेतले बताउनु भयो । बिस्तारीत स्वास्थ्य सेवा(EHS) सेवालाई प्रभाबकारी बनाउनु साथै बिरामिलाइ छिटाे छरितो सेवा प्रदान गर्न प्राइभेट वार्डले सहयोग पुर्याउने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसर पारेर प्रतिष्ठानले सुबिधा सम्पन्न प्राइभेट वार्ड सञ्चालनमा ल्याएको हो । यस वार्डमा बिरामीका लागि छुट्टाछुट्टै क्याबिन बेड राखिएको छ । एसी सुविधा, प्रत्येक बेडका लागि छुट्टाछुट्टै शौचालय, अपाङ्गमैत्री शौचालय, लिफ्टबाट क्वाबिनसम्म जाने व्यवस्था, डाक्टर र स्वास्थकर्मीको चाैबिसै घण्टा उपलब्धतासहितको व्यवस्थासहित सेवा सुरु गरिएको निर्देशक बस्नेतले जानकारी दिनुभएको छ ।
प्राइभेट वार्ड सेवा दाङका लागि पहिलो र नवीनतम सेवा भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा प्राइभेट बेडसहित राप्ती स्वास्थ विज्ञानमा अब १ सय ७५ बेड सञ्चालनमा आएको छ । सिटी स्क्यान सेवा, आधुनिक ल्याब सेवा, अक्सिजन प्लान जडान, विभिन्न विशेषज्ञ सेवा प्रदान गरी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता कम भएको प्रतिष्ठानले जनाएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार