२०८१ माघ ५ गते शनिवार

सल्यानमा उत्खनन नहुँदा दर्जनभन्दा बढी खानी अलपत्र



२९ कार्तिक,सल्यान – सल्यानमा उत्खनन नहुँदा दर्जनभन्दा बढी खानी अलपत्र परेका छन्। विभिन्न स्थानमा रहेका चुनढुंगा, फलाम‚ तामा, कोइला, सिसा लगायतका खानी उत्खनन हुन सकेको छैन।

जिल्लाको शारदा नगरपालिका-६ खामेलेकको चुनढुंगा, वडा नम्बर ७ मा रहेको तामा र फलाम खानी, कपुरकोट र सिद्ध कुमाखमा रहेको चुनढुंगा, कुमाख गाउँपालिकामा रहेको फलाम र कालीमाटी गाउँपालिकामा रहेको सिसा खानी उत्खनन हुन सकेको छैन ।

कालीमाटी गाउँपालिकाको कोछट्टेमा रहेको सिसाखानीबाट स्थानीयले २० वर्षअघिसम्म सिसा निकाल्ने गरेपनि सरकारले सिसा निकाल्न प्रतिबन्ध लगाएपछि खानी रहेको क्षेत्र पुरिँदै गएको गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए।

त्यस्तै कालीमाटीकै मर्चेबारी र घुरचौरमा कोइलाखानी रहेको छ । दुवै खानीबाट कम्तीमा ५० वर्षसम्म कोइला निकाल्न सकिने एक अध्ययनले देखाएको अध्यक्ष खत्रीले जानकारी दिए ।

यता कपुरकोट गाउँपालिकाको पाखापानीमा रहेको कोइला र चुनढुंगा उत्खननका लागि १६ वर्षअघि ठेकेदार दिनेश डाँगीले लाइसेन्स लिएका थिए । तर‚ बस्ती जोखिममा परेको भन्दै स्थानीयले अवरोध गरेपछि काम अघि बढ्न नसकेको उनको भनाइ छ ।

यस्तै‚ कुमाख गाउँपालिकामा रहेको फलाम खानी उत्खनन गर्न २०७६ मा सुवास कास्यपती इन्डस्ट्रिज र कपुरकोटको चुनढुंगा उत्खननका लागि शिवस्वरुप खनिज उद्योगले २०६७ मा इजाजत लिएपनि काम अघि बढाएका छैनन । कम्पनीले खानी आफ्नो नाममा राख्ने तर काम नगर्ने परिपाटीले पनि काम अघि बढ्न नसकेको स्थानीयको भनाइ छ।

त्यस्तै अन्य खानीहरु पनि छन जुन उत्खनन भने हुन सकिरहेका छैनन् । यी खानी उत्खनन गर्न सके स्थानीयस्तरमै धेरै युवाहरुलाई रोजगारी दिन सकिने भएपनि खानी उत्खनन नहुँदा उनीहरुको रोजगारी गुमेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्