२९ कार्तिक,घोराही-
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले प्रदेशभित्रका महासंघका सम्पुर्ण सदस्य पत्रकारहरुको १० लाखको निःशुल्क दुर्घटना बिमा गर्ने भएको छ ।
समितिको भालुवाङमा बसेको दोस्रो औपचारिक बैठकले यस्तो निर्णय गरेको सचिब शिव सुनारले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशमा १ हजार ७ सय जना महासंघका सदस्य रहेको उहाँले बताउनुभएको छ ।
बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने, शीतगङ्गा नगरपालिकाबाट प्राप्त करीव ३ रोपनी जग्गामा सुविधा सम्पन्न प्रदेश कार्यालय भवन निर्माण गर्ने र भवन निर्माणका लागि अध्यक्ष वसन्त गिरीको संयोजकत्वमा निर्माण समिती गठन गरेको छ ।
प्रकाशन विभागले “लुम्बिनीको पत्रकारिता” नामक इतिहास लगायतका पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ संघीय समितिका उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।।