२९ असोज । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनप्रति गम्भीर असहमति व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् १२ औंपटक पुनर्गठन गर्दै अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेललाई दिएका थिए । त्यस्तै सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीला श्रेष्ठलाई जिम्मेवारी दिएका थिए । रक्षामन्त्री ईश्वर पोखरेलको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मा दिएका थिए । सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको थियो ।यसप्रति प्रचण्डले आपत्ति जनाएका हुन् । “अध्यक्ष प्रचण्डको मन्त्रिपरिषद् पुनर्गठनप्रति पूर्णतः असहमति रहेको छ । स्थायी कमिटी र सचिवालय बैठकको म्यान्डेटअनुसार भएन भन्ने उहाँको कुरा छ,” प्रचण्डनिकट स्रोतले भन्यो ।
बुधबार दुई अध्यक्षको बालुवाटारमा भेटवार्ता भएको थियो । भेटमा कर्णाली प्रदेशको विवाद सल्ट्याउने विषयमा मात्रै कुरा भएको स्रोतको जिकिर छ ।
फाइल तस्बिर ।