२०८१ माघ ७ गते सोमवार

बालबालिका हराउने क्रम बढ्दो, दाङमा वितेको आर्थिक बर्षमा १०७ बालिका हराए



घोराही, ३१ साउन –
पछिल्ला वर्षहरुमा नेपालमा विभिन्न कारणले बालबालिका बेपत्ता हुने क्रम बढेको सरकारी तथ्यांकले देखाएको छ । वर्षौंदेखि बालबालिका हराउने क्रम बढ्दै गएपनि यसबारे प्रभावकारी अनुसन्धान भने हुन सकेको देखिदैन ।

स्थानीय तहसम्म बालबालिका खोजतलास सेवा बिस्तार नहुनु तथा सीमापार पुगेका बालबालिकाको खोजीका लागि समन्वयकारी निकाय नहुनु जस्ता समस्या छन् ।

पछिल्लो ३ वर्षको सरकारी तथ्यांक हेर्दा नेपालमा बेपत्ता हुने बालबालिकाको संख्या क्रमश बढ्दै गएको देखिन्छ । २०७४ सालमा २ हजार ३३० जना, २०७५ सालमा ३ हजार ४२२ र २०७७ सालमा ३ हजार ६ सय ५८ जना बालबालिका बेपत्ता भएको राष्ट्रिय बाल अधिकार परिषदको तथ्यांक छ ।

२०७५ सालमा हराएका मध्ये २ हजार ५ सय ४० र गत वर्षमा हराएका मध्ये ३ हजार ९ जना बालबालिका भेटिएका छन् । बेपत्ता भएका बाँकी ६ सय ४९ जनाको भने खोजी भइरहेको छ ।

प्रहरीको तथ्यांक अनुसार दैनिक १० जना बालबालिका हराउने गरेका छन् । हराउने बालबालिकामा सबै भन्दा बढी १५ देखि १८ वर्ष उमेर समूहका रहेका छन् । नेपालबाट हराएका अधिकांश बालबालिकालाई भारतमा पु¥याइने गरेको पाइएको छ ।

यता दाङमा वितेको आर्थिक बर्षमा एक सय ७ जना बालिका हराएकोमा ९० जना फेला परेको र १७ जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै ३९ जना बालक हराएको भनि निबेदन आएकोमा ३७ जना फेला परेको र २ जना अझै सम्पर्कमा नआएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख प्रहरी सहायक निरिक्षक निमा डिसीले जानकारी दिनुभएको छ ।

यसैबिच चालु आर्थिक बर्षको एक महिनामा २ जना बालक र ३ बालिका हराएको निबेदन आएकोमा २ जना बालिका मात्रै भेटिएका छन् ।।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्