२०८१ असार ६ गते बुधवार

गठबन्धनले बुथ कब्जा गरेको एमालेको आरोप, पुनः मतदान गर्न माग



१ जेठ, काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । स्थानीय तहको मतदान सकिएर मतगणना सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनमाथि बुथ कब्जा गरेको आरोप लगाएका हुन् । एमालेले आचारसहिंता सच्याउन गरेको आग्रहलाई बेवास्ता गरिएको, निर्वाचन अगाडि गृह प्रशासनको दुरुपयोग गरिएको, मतदानको दिन दर्जनौ स्थानमा बुथ कब्जा गरिएको तथा मतगणनामा पनि धाँधली भएको आरोप लगाएको छ ।

विज्ञप्तिमा निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभे्रको पाँचखाल, बाराको पचरौता, अछामको साफेबगर, पञ्चदेवल बिनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौं स्थानमा बुथकब्जा गर्ने कार्य भएको आरोप लगाइएको छ ।

त्यस्तै, उदयपुरको त्रियुुगा नगरपालिका वडा नं। १२ मा साँझ ५ बजेपछि मतदान केन्द्रमा प्रवेश नगरेको मतदातालाई घरघरबाट ल्याई कानुनविपरीत मतदान गराउन खोज्दा प्रतिवाद भएपछि मतगणना नै नगरी रोकी राखिएको एमालेको आरोप छ । प्रहरीलाई मतदान स्थल छाडेर भगाउने, कर्मचारीलाई समेत मुचुुल्का नगरी मतदान स्थल छाड्न निर्देशन दिने गरी गृह प्रशासनको चरम दुरुपयोग भइरहेको एमालेको जिकिर छ ।

त्यस्तै पहिलो घेराको सुरक्षा गर्ने जिम्मा पाएको नेपाल प्रहरी हिँडेपछि सेनाको सुरक्षा घेरामा मुचुल्का सम्पन्न गरेकोमा निर्वाचन रोक्न सत्ता गठबन्धनले बाजुराको बुढीगंगा, बुढीनन्दा र खप्तडा छेडाछारमा नांगो नाच देखाएको एमालेले जनाएको छ ।

एमालेले निर्वाचनको दिन मतदान सुरु हुनेक्रममा बनाएको मुचुल्कामा हस्ताक्षर गराउँदा मतदान सम्पन्नको मुचुल्कामा समेत एकै पटक हस्ताक्षर गराई धाँधली गर्ने कार्य गरिएको भन्दै निर्वाचनमा कर्मचारी खटाउँदा नेपालगञ्ज महानगर लगायतका केही स्थानमा पूर्व तयारीसाथ प्रहरीदेखि अन्य कर्मचारीसमेत गठबन्धनको पक्षधरलाई राख्ने जस्ता कार्य भएको जनाएको छ । एमालेले स्वच्छ निर्वाचन गर्न केही स्थानमा पुनः मतदानको माग समेत गरेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस्