२ चैत,घोराही ।
बढ्दो लागु औषध दुव्र्यसनलाई नियन्त्रण गर्न दाङमा आज विभिन्न सरोकारवालाहरु सँग बृहत अन्तरक्रिया भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीको आयोजनामा महिला जनप्रतिनिधी, आमा समूह, शिक्षिका, गैरसरकारी सस्था, प्रहरीको सहभागितामा लागु औषध दुव्र्यसनलाई न्यूनिकरण गर्ने बिषयमा बृहत अन्तरक्रिया गरिएको हो ।
बालबालिका तथा युवाहरु विभिन्न लागु औषध दुव्र्यसनमा फस्दै गएपछि सामुदायिक प्रहरी सेवा केन्द्रले यसको न्यूनिकरण गर्न सरोकारवालाहरु सँग अन्तरक्रिया गर्दै अभिमुखिकरण गरेको हो ।
ब्राउन सुगर, गाँजा, अफिम, हिरोइन, चरेस लगाएतका लागु औषधको ओसार पसार तथा सेवन गर्नेहरुको बढ्दै गएको प्रहरीको अनुसन्धानले देखाएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक झविन्द्र परियारले चालु आर्थिक बर्षमा लागु औषधका १९ वटा मुद्धा दर्ता भएको जानकारी दिनुभयो ।
त्यसमा ५६ जना अभियुक्त पक्राउ परेका छन् भने १३ जना फरार रहेका छन् । १५ किलो चरेस, २१ किलो अफिम, ४ सय ६३ ग्राम ब्राउन सुगर, ६ सय ४५ ट्याबलेट नाइट्राजेपाम बरामद भएको समेत प्रहरीले जनाएको छ । यसका अधिकांश युवाहरुको संलग्नता देखिएको छ ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले लागु औषध दुव्र्यसनीलाई रोक्ने साझा बिषय भएको बताउनुभयो । व्यक्ति, परिवार र समाजलाई यस्ता कुलतले नराम्रो सँग असर गरिरहेको भन्दै यसलाई रोक्न सचेतना र कानुनी कार्वाहीलाई सँगसँगै लैजानु पर्ने बताउनुभयो ।
कार्यक्रममा नार्कोनानका निर्देशक पुजा कुँवरले कुलतमा लाग्ने व्यक्ति सँगै अभिभाबक सचेत हुनुपर्ने र कानुनी दायरामा ल्याउने निकायको पनि सकृयता बढ्नु पर्नेमा जोड दिनुभयो ।
सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने व्यक्तिहरुले लागु औषध दुव्र्यसनीलाई रोक्न विद्यालय स्तरबाटै साझा सचेतनाको अभियान चलाउनुपर्नेमा जोड दिएका छन् ।।