२०८१ माघ २६ गते शनिवार

फागुन २८ का निर्णय सच्याउनुस् : नेपाल, ओलीले भने- सच्याउन्‍नँ



२ चैत,काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते शुक्रबार केन्द्रीय कमिटीबाट भएका निर्णय नसच्याउने अडान लिएका छन् ।सोमबार एमाले मुख्यालय धुम्बाराहीमा वरिष्ठ नेता माधवकुमार नेपालपक्षबीचको वार्तामा ओलीले फागुन २८ गतेका निर्णय सच्याउन तयार नभएपछि वार्ता सकारात्मक हुन नसकेको नेताहरुले बताए ।

‘तपाईंले एकपक्षीय रुपमा गरेका निर्णयलाई कसरी पार्टीको निर्णय भन्न सकिन्छ रु गुटका निर्णयलाई कसरी पार्टी निर्णय मान्न सकिन्छ रु हामी मान्न सक्दैनौं भनेर नेपाल कमरेडले भन्नुभयो,’ छलफलमा सहभागी एक नेताले भने, ‘तर, ओली कमरेडले त्यो पार्टीकै निर्णय हो । बरु तपाईंले गर्नुभएको छ नि के(के त्यो गुट हो । त्यो सच्याउने कुरा हुँदैन । त्यसलाई मानेर जाऔं भन्नुभयो । त्यसले वार्ता सकारात्मक भएन ।’

छलफलमा ओली र नेपालबीच भनाभन भएको थियो । ‘छलफलमा अध्यक्ष कमरेड र नेपाल कमरेडबीच पुराना कुरालाई लिएर ठाकठुक जस्तै भयो । त्यसपछि अरु साथीहरुले पुराना कुराहरुलाई बिर्सेर नयाँ विषयमा प्रवेश गरौं भनेर सहजीकरण गर्‍यौँ । छलफल केही बेर राम्रै चलेको पनि थियो । तर, अध्यक्ष कमरेडलले फागुन २८ को निर्णय सच्याउन तयार छैन भनेपछि वातावरण धमिलो भयो,’ उनले भने ।

उनका अनुसार ओलीसँगको छलफलपछि नेपालपक्षका नेताहरुबीच केही समय छुट्टै छलफलसमेत भएको थियो । ‘उहाँहरुसँगको छलफल सकिएपछि केहीबेर हामी छुट्टै बसेका थियौं । हाम्रो निष्कर्ष भनेको प्रधानमन्त्रीको अडानले एकताको वातावरण अगाडि बढेन । एकताबद्ध गर्ने प्रयत्न भन्दा पनि औपचारिकता जस्तै भयो,’ ती नेताले भने ।

आजको वार्ता सकारात्मक नभएपछि मंगलबार ओलीले आयोजना गरेको चियापान कार्यक्रममा नेपाल पक्ष सहभागी हुने सम्भावना कम रहेको ती नेताले बताए ।

परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पनि सोमबारको बैठक सकारात्मक भए पनि निष्कर्षमा पुग्न नसकेको स्वीकार गरेका छन् । आफूहरुले २८ गतेको बैठकको निर्णयअनुसार अघि बढ्नुपर्ने तर त्यसमा केही सुधार वा पुनरावलोकन गर्न सकिने विषयमा दुई पक्षबीच छलफल भएको बताए । ुउहाँहरुले २८ गतेको बैठकमा हामी उपस्थित भएनौँ, त्यसको अपनत्व स्वीकार गर्न सक्दैनौं भन्नुभयो । हामीले त्यसमा पुनरावलोकन र थपघट गनुपर्ने कुरा भए आगामी दिनमा गर्न सकिन्छ भन्यौँ,ु ज्ञवालीले भने ।

त्यस्तै नेपाल समूहले चैत ४ र ५ गतेलाई डाकेको राष्ट्रिय कार्यकर्ता भेला फिर्ता गर्न अनुरोध गरिएको ज्ञवालीले बताए । ुउहाँहरुले ४ र ५ गते भेला गर्ने भन्नु भएको छ । त्यस्तो भेलाले पार्टी एकतालाई बल पुऱ्याउँदैन । त्यसले थप दूरी बढाउने काम मात्रै गर्छ । ती भेलाहरु नगरौँ बरु आपसी परामर्शबाट केन्द्रीय कमिटीको बैठक तय गऱ्यौ भन्ने कुरा भयो । सारमा आजको छलफल सकारात्मक भएको छ निष्कर्षमा नपुगे पनि ।ु

नेपाल पक्षका नेता भीम रावलले भने फागुन २८ गतेको बैठकको निर्णय सच्याए मात्रै आफूहरुले चैत ४ र ५ गतेको भेला रोक्ने बताए । एकपक्षीय रुपमा बसेको बैठकले गरेका निर्णय अवैधानिक भएको स्वीकार गर्न प्रधानमन्त्री ओली तयार नदेखिएको रावलको भनाइ थियो ।

कान्तिपुरबाट

प्रकाशित मिति : २०७७ चैत्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्