३ फागुन, घोराही – नेपालमा ८१ प्रतिशतभन्दा बढी अनलाइन घटना (साइबर हिंसा/अपराध) सामाजिक सञ्जाल फेसबुकबाट भइरहेका छन् । आर्थिक वर्ष २०८०/८१ मा ६३५ जना बालबालिका र महिला आठ हजार ७४५ जना प्रभावित भएको तथ्याङ्क छ ।
सुरक्षित इन्टरनेट दिवस २०२५ को सन्दर्भमा भ्वाइस अफ चिल्ड्रेन र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एन्ड टेलिभिजन द्वारा काठमाण्डौमा आयोजित कार्यक्रममा अनलाइन हिंसाबाट प्रभावित महिला र बालबालिकाको तथ्याङ्क सार्वजनिक गरिएको हो ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगमा पनि महिला र किशोरीमाथि हुने विभिन्न हिंसालगायत अनलाइन हिंसाको पनि उजुरी आउने गरेको र आयोगले साइबर ब्युरोसँग समन्वय गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने गरिएको बताउनुभयो ।
उहाँले प्रविधिको सहयोगमा धेरै राम्रा, उत्पादनमूलक र सूचनामूलक जानकारी पनि हासिल गर्न सकिन्छ र दुरुपयोग हुँदा पनि धेरै दुःख, बदनामी खप्नुपर्ने अवस्था भएकाले सुरक्षित इन्टनरनेट प्रयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम विद्यालय र समुदायस्तरमा समेत निरन्तर सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव इन्द्रादेवी ढकालले साइबर हिंसाको सिकारमा धेरै बालबालिका परिरहेको बताउँदै अहिलेको जमानामा इन्टरनेटको प्रयोगै नगर भन्न सकिँदैन, यसको सुरक्षित प्रयोगबारे सबैले सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले प्रविधिको दुरुपयोगले समाजका सबै उमेर, वर्ग र पेसा व्यवसायका व्यक्तिलगायत पत्रकार पनि अनलाइन हिंसामा पर्ने गरेको बताउनुभयो । उहाँले प्रविधिको सदुपयोगसम्बन्धी चनाखो हुँदै हिंसामा परिहाले सम्बन्धित निकायमा उजुरी गरी कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।।