३ फागुन,घोराही – तुलसीपुरमा खानेपानीको वितरणलाई सहज बनाउनका लागि संचालनमा आउन लागेको बबई लिफ्टीङको काम अहिलेसम्म करिब ७० प्रतिशत पूरा भएको छ । आगामी वर्ष २०८२ असार मसान्तभित्र सक्ने गरी सहलगानी आयोजनाको काम तिब्र पारिएको हो ।
सहलगानी आयोजना अन्तर्गत बबई लिफ्टीङको काम अहिलेसम्म विषेशगरी मुख्य पाइपलाई विस्तारको काम, वितरण पाइपलाइन विस्तारको काम, आकाशे ट्यांकी निर्माणको काम सकिएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिनुभयो ।
यस्तै ग्राउन्ड रिजर्भ ट्यांकी निर्माण, सम्पवयल, पानी प्रशोधन केन्द्र, पाले हावस, डिप बोरिङ लगायतका काम सकिएको छ । सहलगानी आयोजनाको काम सम्पन्न भएमा दैनिक थप ७१ लाख लिटर पानी वितरण गर्न सकिने छ ।
सहलगानी आयोजनाको ठेक्का भिमेश्वर ड्रिलिङ प्रालिले लिएको हो । ५७ करोड लागतमा सहलगानी आयोजना ठेक्का सम्झौता भएको छ । आयोजनाको काम २०७९ असार २८ गतेबाट शुरू भएको हो ।।