३ माघ,घोराही –
आज बाल्यकाल क्यान्सर विरुद्धको दिवस मनाइँदै छ । हरेक वर्ष फेब्रुअरी १५ मा अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्ध दिवस मनाउने गरिन्छ । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो ।
अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको यसवर्षको नारा ‘जीवन रक्षा ः तपाईँको हातमा’ रहेको छ । हरेक वर्ष विश्वभर झण्डै दुई लाख आठ हजार जना १९ वर्षमुनिका जनसङ्ख्यामा क्यान्सर हुने गरेको तथ्याङ्क छ ।
नेपालमा बर्सेनि क्यान्सरका १५ सयभन्दा धेरै बालबालिका थपिने गरेका छन् । तर एक तिहाइ बाल क्यान्सर रोगी मात्रै उपचारको पहुँचमा पुग्ने गरेको पाइएको छ ।
समयमै पत्ता लगाएर उपचार गरे बालबालिकामा हुने क्यान्सर ९० प्रतिशतभन्दा बढी निको हुने कान्ति बाल अस्पतालले जनाएको छ । बालक्यान्सरको उपचार सम्बन्धी सबैजसो सेवा निःशुल्क रहेको तर उपचारमा पहुँचको कमी मुख्य समस्या रहेको डाक्टरको भनाइ छ ।।