२०८१ मङ्सिर २५ गते मङ्गलवार

आज माघे सङ्क्रान्ति: स्नान गरी ताता परिकार खाने दिन



१ माघ,घोराही – आज माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण सुरु भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको भिड लाग्छ ।

बिहानै तीर्थस्थलमा गइ स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।

यसैबिच आज थारु समुदायले धुमधामका साथ माघी पर्व मनाउँदैछन् । आजदेखि पाँच दिनसम्म थारु समुदायले माघी पर्व मनाउने गर्छन् । बिहानै जलाशयमा गई स्नान तथा पूजा गरी आफूभन्दा ठूलाबढासँग आशिर्वाद लिने चलन छ ।।

प्रकाशित मिति : २०७८ माघ १ गते शनिवार
प्रतिक्रिया दिनुहोस्