२९ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग हार बेहोरेको छ । नेपाली टोली बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको हो । बंगलादेशसँग नेपालले ५ वर्षपछि हार बेहोरेको हो । नेपाल यसअघि २०१५ को डिसेम्बरमा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको थियो । बंगबन्धु रंगशालामा नै भएको उक्त खेलमा नेपाल १–० ले हारेको थियो । त्यसयता नेपालले सन् २०१६ गोलरहित बराबरी तथा २०१८ को साफ च्याम्पियनसिपमा २–० को जित दर्ता गरेको थियो ।
बंगबन्धु रंगशालामा शुक्रबार साँझ धएको खेलको पहिलो हाफमा फितलो प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा प्रदर्शन सुधारिएको प्रदर्शन गरे पनि हार टार्न सकेन । पहिलो हाफमा १–० ले पछि परेको नेपाल दोस्रो हाफको सुरुवातमा खेलमा फर्कने सम्भावना देखाए पनि काउन्टर अट्याकमा गोल खाँदै हार बेहोर्न पुग्यो । झन्डै ८ महिनापछि मैदान फर्केका खेलाडीमा फिटनेसको समस्या पनि देखिएको थियो । एक वर्षपछि राष्ट्रिय टोली खेलमा फर्कंदा हारको नतिजा निस्कियो ।
खेलको सातौं मिनेटमा सुजल श्रेष्ठको कर्नरलाई नेपालले सदुपयोग गर्न सकेन । लगत्तै अर्कोतर्फ विश्वनाथ घोषको लामो थ्रो विकास खवासद्वारा क्लियर भएपनि रिबाउन्डमा आएको बललाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले बचाए । नवौं मिनेटमा नै बंगलादेशले अग्रता लियो । नविद जीवनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । बायाँ विङ्समा सादले दुई डिफेन्डरलाई छक्याउँदै दिएको लो क्रसलाई जीवनले पहिलो टचमा नै गोल गर्न सफल भए ।
१४औं मिनेटमा सुजलकै फ्रिकिकमा बंगलादेशी डिफेन्डरले हेडरमार्फत बल क्लियर गरे । १८औं मिनेटमा अन्जन विष्टले खोसेको बलमा नवयुगले पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । २१औं मिनेटमा विकास खवासले गोलको अवसरलाई क्लियर गरे । २३औं मिनेटमा विश्वनाथको लामो थ्रोमा टोपु बर्मनको फ्रिहेडर बाहिरिँदा बंगलादेश अग्रता दोब्बर पार्नबाट चुक्यो । २७औं मिनेटमा माणिक मोल्लाहले गरेको लामो दूरीको प्रहार गोलरक्षक किरणको हातमा लाग्दै क्रसबारमा ठोक्किन पुग्यो ।
३९औं मिनेटमा रविको क्रसमा नवयुगको प्रयास सफल हुन नसक्दा फुस्केको बलमा अन्जनको प्रहार पनि फितलो बन्यो । पहिलो हाफमा १–० ले पछि रहेको नेपालले दोस्रो हाफमा नवयुग श्रेष्ठको स्थानमा जर्जप्रिन्स कार्कीलाई मैदान प्रवेश गराएको थियो । दोस्रो हाफको सुरुवातमा नेपालले बलमा पकड जमाउँदै आक्रमणको केही प्रयास गरे पनि गोलरक्षकमाथि दबाब बढाउन सकेन । ५५औं मिनेटमा नेपालले खेल बराबरीमा ल्याउने अवसर सदुपयोग गर्न सकेन । जर्जप्रिन्सको क्रसमा रवि पासवानले नियन्त्रणमा लिएर गरेको डिफेन्डरलाई डिफ्लेक्ट हुँदै बाहिरियो । ७१औं मिनेटमा भरत खवासको प्रयास बाहिरिँदा नेपाल बराबरीबाट चुक्यो ।