२०८१ मङ्सिर २५ गते मङ्गलवार

आज ५७ औं राष्ट्रिय बाल दिवस मनाइँदै



२९ भदौ,घोराही –
आज राष्ट्रिय बाल दिवस । ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ५७ औं राष्ट्रिय बाल दिवस मनाइँदै छ ।

नेपालले बालअधिकार सम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा राखेको छ । पछिल्ला वर्ष विश्वव्यापी कोरोना महामारीका कारण बालबालिकाको नियमित पठनपाठनमा असर पुगेको छ ।

दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकालाई भविष्यका जिम्मेवार नागरिक बनाउनु राज्यको दायित्व भएको बताउनुभएको छ । उहाँले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न तीन तहका सरकार, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोरोना विरुद्धको खोप दिन सरकार पूर्ण प्रयासरत रहेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना संदेश मार्फत उहाँले कोरोनाबाट प्रभावित बालबालिकाका लागि हरेक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शैयाको व्यवस्था गरिएको बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्